दार्चुला सीमामा भारतले बलजफ्ती सडक बनाउँदा नेपालतर्फ पहिरोको मार

खलंगा सम्पर्क टुट्यो, दर्जनबढी ठाउँमा गोरेटो बाटो अवरुद्ध, सडक बनाउन नदीको प्राकृतिक धार परिवर्तन गराउँदै भारत

  • असार १७, २०७८
  • कालापानी मिडिया
alt

व्यास । भारतले सीमावर्ती क्षेत्रमा सडक बनाउँदा ठूल्ठूला चट्टान फोर्ने क्रममा नेपालतिरको भूभाग कमजोर भई पहिरो गएको छ । जसले गर्दा वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा सडक अवरुद्ध बनेको छ ।

भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाउँदा दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिकाको छांगरुसम्मको सम्पर्क टुटेको छ । यहीवेला महाकाली नदीमा पानीको बहाव बढेपछि झन् समस्या थपिएको छ ।

व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण तथा केही ठाउँमा महाकालीमा नदीको बहावले बाटो अवरुद्ध भएको हो । भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुंगाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा बढी बाटो अवरुद्ध भएको छ ।

सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटो दर्जनौँ बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उनले भने, ‘कैयौँ ठाउँमा गोरेटो बाटो सयौँ मिटर बढी नदीले कटान गरेको छ । बाटोको नामोनिसानै मेटिएको छ ।’

भारतले घाटिबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ । ‘यो क्षेत्रमा नदीकिनार भएर बनाइएको पूरै घोडेटो बाटो भत्किएको छ,’ वडा नम्बर २ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीले नयाँ पत्रिकासँग भने । यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन । त्योभन्दा माथिल्लो तम्बाकु भीरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको छ । स्थानीयलाई वनजंगलबाट घर फर्किनसमेत कठिनाइ भएको छ ।

भारतको बाटो भएर खलंगा आउनुपर्ने बाध्यता
भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणका लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । कैयौँपटक डोजर, एस्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै भारतले आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाव अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुने गरेको थियो ।

माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो । त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लिङस्थित सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठुल्ठूला चट्टानहरू नदीमा फालिएकाले नदीको बहाव नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जानकारी दियो ।

यस क्षेत्रमा नेपालले पनि सडक निर्माण गर्दै छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिंकर सडकखण्डको व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका तिंकरसम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ । यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो ।

पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारैकिनार छांगरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएका कारण भारतीय सडकबाट नदीमा ढुंगा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटान परेको हो ।

सेनाले गत वर्ष बनाएकै घोरेटो बाटोसमेत महाकाली नदीले कटानले जोखिममा परेको छ । ‘नेपालतिर भएर व्यासको छांगरु तिंकर जान सकिने अवस्था अब रहेन,’ वडाध्यक्ष बोहराले भने, ‘यो बाटो मर्मत कहिले होला । यति मात्र नभई छांगरुमा नेपाल–भारत जोड्ने सीतापुलसमेत महाकाली नदी कटानको जोखिममा छ । महाकाली नदीले सीतापुलनजिकै रहेको भारतीय एसएसबीको चेकपोस्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको छ । सीतापुल बगायो भने व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था पुगेको छ ।’

वर्षौंदेखि जीर्ण रहेको काठको पुल मर्मत गर्न पटकपटक गाउँपालिकासँग आग्रह गर्दा कुनै सुनुवाइ नभएको वडाध्यक्ष बोहराले बताए । ‘अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरूले भारतको बाटो भएर अहिले खलंगा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलंगासम्म व्यासीका स्थानीय पुग्ने सक्ने अवस्था छैन,’ उनले भने, ‘पैदल हिँडडुल गरे पनि भारतीयहरूसँगै अनुरोध गरेर सदरमुकाम खलंगा र व्यासको छांगरु–तिंकर आउजाउ गर्नुपरेको छ ।’

दार्चुला-तिंकर सडक बनाउँदै नेपाली सेना

नेपाली सेनाले दार्चुला-तिंकर भन्ज्याङ सडक निर्माणका लागि साउनदेखि तीनवटा क्याम्प सञ्चालन गर्ने भएको छ । दार्चुला सदरमुकाम खलंगादेखि कोठधारसम्म बाटो निर्माण भइसकेको छ भने आगामी आर्थिक वर्षमा सेनाले कोठधारदेखि तिंकरसम्मको ८७ किलोमिटर बाटो निर्माण सुरु गर्नेछ । सेनाले तिंकर भन्ज्याङ्मा पनि इन्जिनियरिङ कार्यदलको एउटा शिविर स्थापना गर्ने भएको छ ।

नेपाली सेनाले सुनसेरा र डुम्लिङमा दुईवटा क्याम्प स्थापना गरिसकेको छ । त्यहाँबाट उत्तरतिर र तिंकर भञ्ज्याङमा क्याम्प राखेर दक्षिणतर्फ एकैसाथ बाटो निर्माण सुरु गर्ने सेनाको तयारी छ । आगामी आर्थिक वर्ष दशदेखि १२ किलोमिटरसम्म ट्र्याक खोल्न सकिने सेनाको विश्वास छ । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङ जोड्ने मोटरबाटो हालसम्म निर्माण भएको छैन । दार्चुला सदरमुकामदेखि सुनसेरा हुँदै उत्तरतिर कोठधारसम्म बाटो बनेको छ । कोठधारबाट तिंकरसम्मको ८७ किलोमिटर सडक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।

१४ वैशाख ०७७ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि तिंकरसम्मको ८७ किमि सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला-खलंगा हुँदै तिंकर जोड्ने महाकाली राजमार्गको चार सय २५ किलोमिटर लम्बाइ छ । जसमध्ये खलंगाबाट कोठेधारसम्म सडक माहकाली लोकमार्ग दार्चुला तिंकर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘यहाँसम्मको ४७ किलोमिटर सडक हामी बनाउँछौँ,’ पन्तले भने, ‘अहिलेसम्म ४३ किलोमिटर सडकको ट्र्याक खुलाएका छौँ ।’

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाको इन्जिनियरिङ विभागअन्तर्गत विकास निर्माण कार्यदल बाटो निर्माणमा खटिएको छ । प्राविधिक प्रमुख सेनानीको नेतृत्वमा एक सय ३५ जनाको टोली खटिएको उनले जानकारी दिए । हाल सुनसेरा र डुम्लिङमा सेनाका दुई शिविर छन् । तिंकरमा पनि शिविर राखेर दुवैतर्फबाट बाटो निर्माण गर्ने सेनाको तयारी छ । ‘बाटोको सर्भे भइसकेको छ, त्यसको प्रतिवेदन स्वीकृत भएपछि सर्भे अलाइन्मेन्ट बनाइन्छ र लगत्तै काम सुरु हुन्छ,’ सैनिक प्रवक्ता पौडेलले नयाँ पत्रिकासँग भने । यो बाटो निर्माण गर्न सरकारले आगामी आर्थिक वर्षका लागि करिब २२ करोड रुपैयाँ छुट्याएको छ ।
आजको नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved