काठमाडौं । नेकपा (एमाले)ले पार्टी एकताका लागि सहमति खोज्न बनाएको कार्यदलको बैठक आज पनि बस्न लागेको छ।
पार्टी एकताका विषयमा छलफल गर्न आज दिउसो १ बजे कार्यदलको बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको समस्यामा केन्द्रित भएर छलफल गरिने एमाले नेताहरुको भनाई छ ।
एमालेको कार्यदललाई सोमबार निरन्तरता दिने निर्णय भएको थियो। त्यस लगत्तै पनि बैठक बसेर बैठकमा सामान्य छलफल भए पनि मूल विषयमा प्रवेश गरेको थिएन । तर, आज भने विषयवस्तुमा केन्द्रित भएर छलफल गरिनेमा नेताहरु विस्वस्त छन ।
सर्वोच्च अदालतको आदेश अनुसार एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि एमालेभित्र विवाद बढ्दै आएको छ। गत २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका केन्द्रीय सदस्यको बैठक राखेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यससँगै माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।
त्यसयता एमालेमा विवाद बढ्दै आएको हो। नेपाल पक्षले २ जेठ, २०७५ मा फर्किनु पर्ने अडान राख्दै आएको छ। ओलीले २८ फागुन यता नेपाल पक्षलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने गर्दै आएका छन्।
यहि विवाद सुल्झाउन एक महीना अघि दुवै पक्षले कार्यदल गठन गरेका थिए। जसमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved