डडेल्धुराको रूवाखोलादेखि पाँचौंपटक बालुवाटारमा प्रधानमन्त्रीको कुर्सीमा देउवा !

  • असार ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन्। यससँगै उनले साँझ ६ बजे पाँचौंपटक देशको प्रधानमन्त्रीका रूपमा सपथ लिने कार्यक्रम तय भइसकेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्छन् ।

खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भए ।

सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेसको अवधारणा ल्याएका हुन् । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उनी सभापति बनेका थिए । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी काग्रेसको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । सभापति एवम् संसदीय दलका नेता देउवा व्यवस्थापिका-संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए ।

संविधान कार्यान्वयनका लागि उजकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उनले २०७४ फागुन ३ गते पदबाट राजीनामा दिएका थिए । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तरराष्ट्रिय उपाध्यक्ष हुन्।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् । नेता देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अष्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved