काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले सत्ता राजनीतिको फोहोरी खेलमा फेरी पनि संसद परेको भन्दै आफू स्वतन्त्र साँसद बीचमा बसेर सत्ता पक्ष र विपक्षको रमिताको हेरिरहेको बताएका छन् ।
शुक्रबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिने क्रममा उनले सत्ता राजनीतिको फोहोरी खेलबाट सबैभन्दा धेरै ध्वंश र क्षति राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यहोरेको स्मरण गराउदै अदालतको फैसलाको पक्ष र विपक्षमा बहस भइरहेको बेला सत्ता राजनीतिको त्यो फोहोरी खेल फेरि संसदमा प्रवेश गरेको बताएका हुन् ।
उनले संसदमा फेरि प्रवेश गरेको फोहोरी खेल अब चिर कालसम्म कायम रहने बताए । बुढी मरी होइन्, काल पल्कियो भन्ने मलाई लागिरहेको छ भन्दै उनले, यस कुरामा आफूलाई ठूला भन्ने राजनीतिक दलहरूको ध्यान जानुपर्ने बताए ।
लिङ्देनले अहिलेको संविधानमै त्रुटी रहेको भन्दै जबसम्म अहिलेको प्रणालीमा सुधार गरिन्न, जबसम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा जान्नौं, देशले स्थिरताको बाटो नसमाउने बताए।
आफूले यसअघि संसदमा भनेअनुसार बालुवाटारको प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालय वा क्याटरिङ नबनाइयोस भन्ने कुरालाई आत्मसाथ गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिँदै देशले यो सरकारसँग धेरै कुरामा आशा नगरेकाले सानो सानो कुरामा सुधार गरे हुन्छ भने ।
यसअघि चार पटक प्रधानमन्त्री हुँदाको कमजोरी र गल्ती यस पटक नदोहोर्याउन लिङ्देनले देउवालाई सुझाव पनि दिए । उनले यसअघिको गल्ती नगरे मात्रै पनि पुग्छ भने । लिङ्देनले ठूला दलहरूबीचको छिनाझप्टी, सत्ता राजनीति निष्पक्षरुपमा हेरिरहेको म एउटा साक्षी हो भन्दै भने, ‘अहिले जनताको चाहना के छ रु तावाबाट उम्किएको माछा भुङ्ग्रोमा परे जस्तो नहोस ।’
केपी ओली नेतृत्वको सरकारले पहिलो बजेट ल्याउँदा आफूले भनेको कुरा स्मरण गर्दै उनले भने, ‘विपक्षीले खन्न नसकेको खाडल सरकार आफैले खन्नुभयो, त्यो खाडलमा परेको दिन हामी जस्तोले कठै भन्नेबाहेक केही हुँदैन् भनेको थिएँ । एक सिट मात्रै भएको पार्टी राजेन्द्र लिङदेनले भनेको कुरा त्यतिबेला महत्वपूर्ण भएन होला ।
यो बल्लतल्ल टाँस्सिएर झुण्डिएर यहाँसम्म आइपुगेको छ, ठूलो कुरा गर्छ भन्ने कतिपयलाई लागेको थियो होला । भर्खरै गएको सरकार कुनै विपक्षीहरूको कारण ढलेको होर ? अहिलेसम्मको सत्ता राजनीतिको खेललाई पछाडि फर्किएर हेर्यो भने विपक्षी भन्दा पनि आफैले खन्ने खाडलले सरकार ढल्ने गरेको, सरकार असफल हुने गरेको देखिन्छ ।’
लिङ्देनले आफै पर्ने खाल्डो आफै नख्खनुहोला भनेर देउवालाई सुझाव पनि दिए । पृथ्वी जयन्तीलाई यो सरकारले राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved