काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। यसअघि बुधबार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको सहभागी एक नेताले बताए। आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने उनले बताए।
यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो।
हिजोको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।
सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टीको स्थायी समितिको बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने र त्यस विषयमा आज साँझ बस्ने गठबन्धनको बैठकमा केही समझदारी बन्ने बताएका थिए। तर, बुधबार दिउँसो बसेको सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टीबाट को–को मन्त्री बनाउने भन्ने विषयमा कुनै निर्णय हुन सकेन।
यस्तै, राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कारण पनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नसकेका जनाइएको छ।
जनता समाजवादी पार्टीले अध्यादेश निस्क्रिय बनाएपछि मात्रै पार्टीबाट पठाइने मन्त्रीबारे निर्णय गर्ने अडान राख्दै आएको छभने एकीकृत समाजवादीले तत्कालै अध्यादेश निस्क्रिय बनाउन नहुने अडान राख्दै आएको छ। सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरेपछि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले त्यतिबेला ४ जना नेपाली कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्र बहादुर कार्की तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री नियुक्त गरी शपथ ग्रहण गराएका थिए।
त्यसयता १ जना स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र परराष्ट्रमन्त्री खड्का नियुक्त भएका छन्। मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ गठबन्धनका नेताहरुबीच पटक–पटक छलफल भएपनि कुनै निष्कर्ष निस्किन सकेको छैन।
गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा जम्मा ६ मन्त्रीमात्र सहभागी छन्।
देउवा प्रधानमन्त्री भएको दुई महिना पुगेर यता आइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा उनको चौतर्फी आलोचना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved