बाँके । जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ ।
सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।
भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्धार गरेर फर्काउनु कम्ती चुनौतीपूर्ण छैन ।
बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धि सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारण उद्धारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ ।
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक वर्षमा ५४ जनालाई फर्काएको छ । माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०७५–७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्धार गरेको छ जसमा तीन जना तेस्रो मुलुकका रहेका छन् । माइती नेपाल चेलीहरुको उद्धार गर्न आफ्नै संयन्त्रमार्फत भारतको नयाँ दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतका स्थानमा पुगिरहेको हुन्छ ।
माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइराला धेरै पटक चेलीहरु खोज्न भारत पुगेको बताउँदै भन्छन्, ‘नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारतस्थित सङ्घ, संस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरेका छौं ।
सूचना चुहिँदा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ ।’ माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरीभन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरेको छ ।
भारतका कोठीमा छापा मार्दा माइती नेपालको टोली आफैं खोजीका लागि सक्रिय हुने गरेको छ । कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइराला कोठीमा छापा मार्दा उनीहरुलाई च्यानल गेटभित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गभित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सुनाउँछन् ।
‘कोठीमा भोगेको नारकीय जीवन सबैले थाहा पाउने भय र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्धारलाई अस्वीकार गर्न खोज्छनु’, उनले भने, ‘त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानूनी उपचार र पुनःस्थापनामा पनि सहयोग गर्छौं ।’
माइती नेपालले चेलीहरुको उद्धारपछि भारतस्थित सरकारी आश्रयस्थलमा राख्ने गरेको छ । ‘कोठी सञ्चालकविरुद्ध कानूनी कारवाही र क्षतिपूर्तिका लागि समेत भारतमा सहजीकरण गर्दर्छांै’, उनले भने । माइती नेपालले श्रम र यौनशोषणमा परेकाहरुको उद्धार गर्दै आएको छ ।
उद्धार गरिएकाहरुलाई आवधिक गृहमा समेत राख्ने गरेको छ । आव २०७५–७६ मा ९०२ जनालाई माइती नेपालले सीमाबाट उद्धार गरी आवधिक गृहमा पठाएको थियो । माइती नेपालले आव २०७५–७६ मा ३५१ जनालाई नेपाल–भारत सीमाबाटै परामर्श दिई घर फर्कायो । त्यसअघिको आवमा २८८ जनालाई माइती नेपालले सीमा क्षेत्रबाट फर्काएको थियो ।
घर परिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएकाहरू केही महिनापछि सम्पर्कमा नआउने र आफन्तले त्यस्ता महिलाको खोजतलाश तथा उद्धारका लागि निवेदन दिने गरेको संयोजक कोइरालाले जानकारी दिए ।
विपन्न, निरक्षर, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुःख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडी मुलुकमा पुर्याउने गरेका छन् । आफ्नै ठाउँमा दुःखले बाँच्नुभन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै छन् । घरमा पनि दुःख पाएकै छौँ, खाडीमा गए त यहाँ भन्दा के नै दुःख होला र भन्ठानेर दलालको पछि लाग्नेको पनि कमी छैन । गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved