काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमत्ति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको ढोका खोलेको हो ।
गठबन्धन दलबीच कांग्रेसले ७, माओवादीले ६ र एकिकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ४/४ मन्त्रालय पाउने भएका छन् । मन्त्रालय बाँडफाँडको काम सकिएपछि अब बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सूचना तथा प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट मन्त्री बनाउने विषयमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलासँग सभापति देउवाले छलफल गर्ने हुनुभएको छ । पौडेल पक्षले कांग्रेसले पाउने कूल हिस्सामा ४० प्रतिशत दाबी गरिरहेको छ ।
मन्त्रिपरिषद् विस्तार हुने भएसँगै कांग्रेसमा मन्त्री बन्नेहरुको चर्चा हुन थालेको छ । कांग्रेसबाट मन्त्री हुनेमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, राजन केसी, सञ्जय गौतम, तेजुलाल चौधरी, उमाकान्त चौधरी र पुष्पा भुषालको चर्चा छ ।
चर्चा ज जसको भएपनि बडु, रिजाल, उमाकान्त र पुष्पाको मन्त्री बन्ने सम्भावना धेरै रहेको स्रोतले बताएको छ । कांग्रेसले पुष्पालाई कानुन मन्त्री दिएर अहिलेका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरेको छ ।
मन्त्री नियुक्त हुनासाथ व्यापारीलाई मन्त्री बनाएको भन्दै विवादमा मुछिनुभएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मन्त्री पद भने धरापमा पर्ने देखिन्छ । ‘कार्कीलाई स्वास्थ्य मन्त्री बनाएपछि श्रेष्ठ राजयमन्त्रीबाट पनि आउट हुने सम्भावना धेरै छ’, स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved