काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् नियमित सञ्चालन गराउनका लागि नेकपा (एमाले)सँग छलफलको लागि तयार रहेको बताएका छन् । संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए ।
संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै उनले आफू प्रतिपक्ष दल नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको भन्दै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने उल्लेख गरे ।
सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने, पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ, अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन । ढिलोचाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरूलाई विनम्रतापूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ । के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको दायित्व हुन्छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो ।
सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँ कतै मैले पनि बल त गरेको छु, तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ, मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्यसम्पादन गर्नुपर्छ । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ । हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ । जतिसुकै ठूलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।”
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजयादशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरे । संसद् चलाउनका लागि नेकपा ९एमाले०सँग संवाद गर्न आफूले सकेसम्म पहल गर्ने बताउँदै उनले संसद् पुनःस्थापना गर्न लागिपरेजस्तै संसद् नियमित चलाउन सांसदहरूले पनि पहल गर्नुपर्ने धारणा राखे । उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागिपर्ने बताए ।
“राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन । यी सबै आग्रह, पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ । अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक उपायहरू अवलम्बन गर्नका लागि मैले सकेजति मिहिनेत गर्दछु । म कहाँनेर अलि बढी चिन्तित छु भने संसद् पुनःस्थापना गर्नका लागि हामीले जति पहल गर्यौँ, प्रयत्न, परिश्रम, त्यत्तिकै त्यसलाई प्रभावकारी बनाउन, सबलीकरण गर्नका लागि जीवन्त र जनमुखी बनाउनका लागि मेरो पनि पहलकदमी गुणात्मक ढंगले बढ्नुपर्छ नै । त्यसमा कुनै दुईमत नै छैन । तर, पार्टी, पार्टीका नेता, अझ सांसदहरूमा त्यसलाई प्रभावकारी बनाउनका लागि चाहे अध्ययन, चाहे छलफल र संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहिनेतको जरुरत हुन्थ्यो नि । संसद्लाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।”
संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको उनले बताए । राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको र सहजीकरण नै गरेको उनको भनाइ छ ।
आउँदो कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक बिनाअवरोध चल्नेमा आफू आशावादी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved