बडादशैंको मुख्य दिन आज विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै

  • आश्विन २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ ।
नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ ।

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदेखि टीका, जमरा र आशिर्वाद ग्रहण गर्न सकिने छ ।

घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दूर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ । रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

दशैंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशिर्वचन विशेष महत्वका हुन्छन् ।

दशैं हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा रहेको छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्य निकै रोमाञ्चक देखिन्छ ।

घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकहाँ पुगेर टीका र आर्शिवाद थाप्न आज दिनभर निकै दौडधूप हुने गर्दछ । नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

वैदिक सनातन धर्मानुयायीहरू दशैंलाई पौराणिक पात्र र तिनको महारथसँग जोडेर हेर्ने गर्दछन् । यस दिन दशानन् अर्थात् दशमुखे रावणको पराजय भएको र रामको विजय भएको दिनका रुपमा पनि लिइन्छ । यसै दिन दुर्गा भवानीले महिषासूर नामक असूरको वध गरेको देवी भागवतमा उल्लेख छ । दशैंलाई दैत्यमाथि देवता, असत्यमाथि सत्य अनि अमानवीयतामाथि मानवताको विजयका रूपमा पनि लिने गरिएको छ ।

टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ । पुरुषलाई टीका लगाइदिँदा ‘आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने, सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे’ अर्थात् द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो श्रेय होस्, रामको जस्तो शत्रू क्षय गर्ने क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य९सम्पत्ति० होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस्, सूर्य पुत्र झैँ दानी होस्, बलरामको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस्, भन्ने गरिन्छ ।

यसैगरी, महिलालाई टीका लगाइदिँदा भने ‘जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।’ अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारलाई अन्त्य गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी १ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं, भनेर आशिर्वाद दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved