काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ४३ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ। यस्तै इलाममा ८, धनकुटामा ६ जना, पाँचथरमा पाँच, हुम्लामा ६ जना, सुनसरीमा २ जना, सिन्धुली र कालीकोटमा एकरएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर २२ जना घमयते भएका छन् ।
पहिरोमा पुरिएर बझाङमा २४, इलाममा ७ र पाँचथरमा २ जना बेपत्ता भएका छन्। सुदूरपश्चिमको डोटीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनासहित ९ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो। जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ।
डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ। डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ।
यस्तै सुदूरपश्चिमको बैतडीमा ३ र डडेल्धुरामा २ जनाको पनि पहिरोमा पुरिएर ज्यान गएको छ। बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। डडेल्धुराको न्यापधुरा गाउँपालिका–१ भात्काडामा पहिरोले घर बगाउँदा ३२ वर्षीय विष्णु अवस्थीको र डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved