नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा विलय भएको आरोप लगाएका छन् । नेपालगन्जमा विभिन्न पार्टीका ३ हजार ९ सय ९३ जना नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले एमालेसँग कुनै पनि पार्टीको तुलना हुन नसक्ने बताएका हुन् ।
‘उनले भने, कांग्रेसे प्रचण्डपथमा विलय भईसक्यो, प्रधानमन्त्री पदको लागि प्रचण्डपथमा काँग्रेस लाग्यो’, उनले भने, ‘खोइँ वीपीको कांग्रेस , खोइ गणेशमानको कांग्रेस ?, खोइँ कृष्णप्रसाद भट्टराईको कांग्रेस ? अब भेटिदैन प्रचण्डपथमा विलय भईसक्यो ।’
देशव्यापी रुपमा नेकपा एमालेमा पार्टी प्रवेश गर्ने जनलहर चलेको उल्लेख गर्दै उनले भने, ‘जनताको आकर्षण एमालेमा छ । पाँचदलीय गठवन्धनको पार्टीमा प्रवेश गर्न कसैलाई दशा लागेको छैन।’ बाँके जिल्ला एमालेको लाल किल्ला भएको उनको दावी छ ।
‘सम्पूर्ण जनताको साझा पार्टी हो एमाले । सहि विश्लेषण र निस्कर्षका साथ मिश्राजीहरु पार्टी प्रवेश गर्नुभयो ।’, अध्यक्ष ओलीले भने, ‘एमाले प्रादेशिक-जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अवको निर्वाचनमा एमालेको आफ्नै सुदृढ वहुमत हुनेछ ।’
एमाले लोकतन्त्रका लागि लडेको पार्टी भन्दै उनले देशमा राष्ट्रियता, भौगोलिक अखण्डताको पहरेदार गर्ने, विभिन्न भेदभाव र पक्षपातको बिरोध गर्ने पार्टी एमाले मात्र भएको बताए । विगतमा बिरोधिहरुले देशभर मधेसमा मधेस बिरोधि, पहाडमा आदिवासी जनजाति बिरोधि भनेर एमालेको विरुद्धमा हल्ला मच्चाए पनि त्यो कुरा सत्य नभएको प्रमाणित भैसकेको उनले बताए ।
मधेसमा दैनिक हजारौं मधेसबासीहरु र पहाडमा आदिवासी जनजातिहरु एमालेप्रति आस्था राख्दै एमाले प्रवेश गरिरहेको बताउँदै उनले एमालेविरुद्ध जति अफवाह फैलाएपनि मधेसमा एमाले झन बलियो भएको दावी गरे ।
बाँकेमा स्वतन्त्र समूहका नेता एवम् जिल्ला विकास समितिका पूर्व सभापति पशुपतिदयाल मिश्रा, अब्दूल करिम खा, गिरिजा पाठकको नेतृत्वमा ३ हजार बढी नेता तथा कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका थिए ।
राष्ट्रिय स्वाभिमान र मुलुकको समृद्धिको लागि अडान लिन सक्ने नेता केपी ओलीबाट मात्रै मधेशी तथा मुस्लिम समुदायको संरक्षण सम्भव भएकोले आफुहरुले नेकपा एमाले रोजेको नेता मिश्राले बताए ।
बाँकेमा अब एमाले पहिलो नम्वरको पार्टीको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने दावी गरे । कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष ओलीले मन्तव्य व्यक्त गरेर काठमाडौ फर्किए पनि पार्टी स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेरल, केन्द्रीय सदस्यहरु लगायतका नेताको उपस्थितिमा कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved