काठमाण्डाै । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज (शुक्रबार) परेको छ । सम्मानित जीवनको अपेक्षासहित मानवअधिकारका पक्षमा वकालात गर्दै प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले मानवअधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९४८ मा मानवअधिकार घोषणापत्र पारित गरेको हो । मानवअधिकार घोषणापत्र विश्वमा सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकासित भएको घोषणा पत्र हो । पछिल्लो तथ्याङ्कअनुसार यो घोषणा पत्र पाँच सयभन्दा बढी भाषामा अनुवादित छ ।
यस वर्ष ‘हामी यो सङ्कटबाट थप सुन्दर, समान र स्वच्छ भएर उठ्नेछौँ’ भन्ने आसयका साथ मानवअधिकार दिवस मनाइँदै छ । विश्व यतिबेला कोरोना भाइरस महामारीको सामाना गरिरहेको छ । जुन सङ्कटका कारण मानवअधिकारको अवस्था पनि दयनीय बन्दै गइरहेको छ ।
कोरोना महामारीले थलिएको संसारले फेरि उठ्ने सङ्कल्पका साथ यो दिवस मनाइरहँदा कोरोना भाइरसका विभिन्न भेरियन्टले थप चासो र चिन्ता पनि बढाइरहेका छन् । मानवअधिकार भनेको एउटा मान्छेको जन्म भएपछि उसले पाउनुपर्ने सबै खालका अधिकारहरु हुन् ।
मानिसको जीवनमा आवश्यक पर्ने आधारभूत आवश्यकताहरु मानवअधिकारभित्र पर्छन् । मानवअधिकार सबैको जीवनमा अपरिहार्य छ । मानवअधिकार घोषणापत्रले सबैको सशक्तिकरणको आवाज उठाएको छ ।
मानवअधिकारले मानवका साझा समस्याको पहिचान गर्दै वन्धुत्वको भावना जाग्रित गरेर समानता, न्याय र स्वतन्त्रताको पक्षमा पैरवी गर्ने गरेको छ । द्वन्द्वलाई रोकेर मानवीय मूल्यमाथि आक्रमण हुन नदिन र जोखिममा रहेकालाई सुरक्षा एवम् संरक्षण गर्ने सन्दर्भका विषयवस्तु घोषणपत्रमा उल्लेख भएका छन् ।
विशेष गरेर मानवअधिकार घोषणापत्रले आफ्नो र अरुका लागि आवाज उठाउन सबैलाई प्रेरित गर्ने गरेको छ । पछिल्लो समय विश्वलाई त्रसित तथा आतङ्कित बनाउने खालका मानवअधिकार उल्लङ्घनका घटनाहरु भइरहेका छन् ।
रुढीवादी परम्पराका कारण महिलामाथि हुने हिंसादेखि लिएरसिरियाका बालबालिकामाथि तथा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु सबै मानवअधिकार उल्लङ्घनका घटना हुन् । पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिङ्ग्याहरुको वेदना सबै आधारभूत मानवअधिकार हनन्का निर्लज्ज घटना हुन् ।
विश्वमा भएका विभिन्न त्रासदीपूर्ण घटनाले मानवता पूर्णरूपमा मरिसकेको भान गराउँछ । यद्यपि यस्ता घटना रोक्न र मानवअधिकारको रक्षाका लागि आवाज उठाउने र पैरवी गर्ने क्रमलाई तीव्र पारेर लगिएको छ । पछिल्लो दुई वर्षयता कोरोना महामारीले मानवअधिकार उल्लङ्घनका घटना धेरै भइरहेका छन् ।
महामारी नियन्त्रणका लागि लगाइएका लकडाउन, सीमानाका बन्द र बन्दाबन्दीका कारण मानवअधिकारमा थप असर पुगिरहेको विभिन्न रिपोर्टहरुले देखाएका छन् । मानवअधिकारका आधारशीलाहरु शिक्षा, स्वास्थ्य, यात्रा, व्यापारलगायतका विषयमा पनि कोरोनाले ठुलो असर गरिरहेको छ ।
मानवअधिकारको सवालसँग जोडेर व्यक्तिव्यक्तिको जीवन रक्षाका लागि पहल गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो समय समाजको दीगो विकासका लागि स्थानीय सरकार, स्थानीय समुदाय तथा प्रत्येक व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने र कोरोनाबाट बच्न सजगता अपनाउनुपर्ने विषय तड्कारो रूपमा उठान गर्न थालिएको छ ।
मानवअधिकारको पूर्ण सुनिश्चिततालाई विकासको आधार र समुन्नत समाज निर्माणको खुड्किलो मानिन्छ । त्यही भएकाले मावनअधिकार उल्लङ्घन एवम् हनन्का कदमहरु चाल्न नहुने कुरामा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले सबैलाई प्रेरित गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved