काठमाण्डाै । नेपाली काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचन हुँदा भृकुटीमण्डप सुनसानजस्तै थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनाको बुधबार विहान परिणाम आएर देउवा निर्वाचित हुँदा त्यहाँ न नाराबाजी थियो, न विजयी जुलुस ।
काँग्रेसको निर्वाचन समितिले बुधबार विहान साढे तीन बजे देउवा पुनः सभापतिमा निर्वाचित भएको घोषणा गर्दा राष्ट्रिय सभागृहमा उल्लासको वातावरण थिएन । देउवाको गृहजिल्ला डडेल्धुराका केही कार्यकर्ता मात्र भृकुटीमण्डपमा भेला भएका थिए । केही समय मात्र ‘नेपाली काँग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’को नारा लगाए ।
पार्टीको आन्तरिक निर्वाचनमा भएको जीत–हारलाई उत्साहका रुपमा लिन आवश्यक नभएको उनीको भनाइ थियो । मतगणना स्थलमा सहभागी भएका केही नेता कार्यकर्ताले पनि देउवाको जितलाई उत्साहका रुपमा लिएको देखिएन ।
मंगलबार विहान आएको पहिलो चरणको निर्वाचन परिणाममा पहिलो भएका देउवालाई तेस्रो भएका प्रकाशमान सिंह, चौथो भएका विमलेन्द्र निधि र पाँचौ भएका कल्याण गुरुङले साथ दिएपछि जीत निश्चित जस्तै थियो । त्यसैले पनि कार्यकर्ताहरूमा सभापतिको नतिजाप्रति खासै उत्सुकता पनि थिएन ।
मतगणनास्थलमा पनि देउवा पक्षका उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर लगायतका शीर्ष नेता मात्र सहभागी थिए ।दोस्रो चरणको प्रतिस्पर्धा मतगणना नहुँदै उनीहरु देउवा सभापतिमा निर्वाचित भइसकेको भावभङ्गीमा देखिन्थे । मत परिणाम अनुसार पनि देउवाले २७३३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वीमा शेखर कोइरालाले १८५५ मत पाए ।
देउवाले ८७८ मत ल्याएर कोइरालालाई पराजित गरेका थिए । मत गणनाका क्रममा पनि देउवाले सुरु देखिनै अग्रता बढाउँदै लगेपछि प्रतिस्पर्धा रोमाञ्चक बनेन । तर मतदानस्थलमा दिनभर बसेर मत मागेका देउवा पनि निर्वाचित हुँदा राष्ट्रियसभा गृहमा आउने अपेक्षा थियो । तर प्रधानमन्त्री समेत रहेका देउवा बालुवाटारबाट राष्ट्रिय सभागृहमा आएनन् । बधाई दिने नेताहरु बुधबार विहान बालुवाटार पुगे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved