चिनिया विदेश मन्त्रि वाङ यीको आसन्न नेपाल भ्रमणले दुई देशविच केही समय यता चिसिएको सम्बन्ध सुधार होस

  • चैत्र १०, २०७८
  • कालापानी मिडिया
alt

अमेरिकी निकाय एमसीसीसँगको सम्झौता अनुमोदन भएको महिना दिन भित्रै उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आउदै छन् । शुक्रबार ११ गते काठमाडौं आएर वाङ यी १३ मा चिन फर्कनेछन् । यो बेला नेपालले मूलतः आधा दर्जन विषयमा छलफल अघि बढाउन सके भ्रमण सदुपयोग हुने विज्ञहरूको भनाइ छ ।

दुई वर्षयता विदेश भ्रमणमा ननिस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री वाङलाई महत्त्वका साथ नेपाल पठाउन लागेका हन् । नेपाललाई लामो समयदेखि नजिकबाट चिनेका र स्टेट काउन्सिलरसमेत रहेका वाङ विश्वास बढाउने सन्देश लिएर नेपाल आउन लागेको बताइएको छ । सिमाना जोडिएको छिमेकी मुलुक भएकाले नेपालमा चीनको चासो हुनु स्वाभाविक नै हो । यसलाई सम्बोधन गर्नु हाम्रो कर्तव्य हुन्छ । तर, यस्तो अवस्थामा नेपालले चीनसँगको रणनीतिक सम्बन्ध थप बलियो बनाउन राज्य संयन्त्रलाई प्रभावकारी ढंगले सदुपयोग गर्न सक्नु पर्छ । १९७४ मा नेपालले खम्पा विद्रोहलाई शान्त गरेको चीनका सामु नजिर छ । त्यसलाई अहिले पनि स्मरण गराउन सक्नु पर्छ ।

विश्वको बदलिँदो परिस्थितिलाई मध्यनजर गरेर असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्ने र छिमेकीका चासोलाई विशेष प्राथमिकतामा राख्ने विषयमा नेपालले चीनलाई प्रस्ट पार्नै पर्छ । उसो त बीआरआई कार्यान्वयनमा अहिलेसम्म न्यूनतम प्रगति पनि भएको छैन । सन् २०१७ मा बिआरआइमा हस्ताक्षर भए पनि कुनै पनि परियोजनामा प्रगति भएको छैन । अमेरिकी पहलको एमसीसी सम्झौता अघि बढ्दै गर्दा बीआरआई पछि परेको सन्दर्भमा चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेका हुन् । बीआरआईका लागि नेपालले सुरुमा चीनलाई ३५ परियोजना पठाएकोमा पछि त्यसलाई ९ मा सीमित गरिएको थियो । जसमा काठमाडौं–रसुवागढी सडक स्तरोन्नति, काठमाडौं–रसुवागढी रेल परियोजना, गल्छी–रसुवागढी ४०० केभी प्रसारण लाइन, किमाथांका–हिले सडक निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय, तमोर जलविद्युत् आयोजना निर्माणलगायत छन । तर, नेपालले हालसम्म बीआरआई परियोजनाकै लागि भनेर प्रस्ट रूपमा चीनलाई सूची नपठाएको परराष्ट्र मन्त्रालयको भनाई छ ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार बीआरआई परियोजना अघि नबढेकामा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि असन्तुष्ट व्यक्त गर्नुभएको छ । केही दिन अघि मात्रै राष्ट्रपति भण्डारीले पूर्वाधार विकासका लागि अवसरका रूपमा लिँदै बीआरआईलाई अघि बढाउन नेपाल इच्छुक रहेको बताउनु भएको थियो । उसो त बीआरआईमा ऋण लिएर काम गर्न गाह्रो हुन्छ । तर, चीनको अर्थतन्त्र बलियो नभएका बेलासमेत तातोपानीदेखि काठमाडौं आउने कोदारी मार्गलाई चिनले अनुदानमा बनाइदिएको थियो । अहिले चीन अर्थतन्त्रमा बलियो छ । नेपालले विश्वास दिलाउन सक्यो भने अनुदान दिन सक्ने विज्ञहरु बताउँछन् । उता, चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर भए पनि कार्यान्वयनमा भने प्रगति हुन सकेको छैन ।

दक्षिणी छिमेकी भारतले अघोषित नाकाबन्दी गरेपछि समुद्रसम्म पुग्ने वैकल्पिक मार्गको खोजीमा चीनसँग पारवहन सम्झौता भएको थियो । कार्यान्वयनमा भने नेपाल र चीन दुवैतर्फबाट पहल भएको छैन । चल्तीमा रहेका उत्तरी नाका रसुवागढी र तातोपानीबाट आयात–निर्यात नै अहिले असहज छ । भूकम्प र महामारीपछि ती दुवै नाकालाई चीनले नै सहज रूपमा खोलेको छैन । उत्तरबाट सजिलै आउन सक्ने चिनियाँ उत्पादन हिन्द महासागर घुम्दै भारतीय नाकाबाट आउँदा समय र खर्च बढेकाले व्यापारी तथा उपभोक्ता मर्कामा छन् । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा सहमति भएका योजना पनि कार्यान्वयन हुन सकेका छैनन् । यसमा भएको कमजोरी नेपालले स्विकार्नै पर्छ ।

हरेक भ्रमणमा बिभिन्न सम्झौता गर्ने तर कार्यान्वयनमा तदारुकता नदेखाउने बानीकै कारण अहिले सम्मका सम्झौता कार्यन्वयन नभएको हुन् । नेपाली विद्यार्थीलाई चीन जान दिने मात्र होइन, नेपाली परियोजनामा कार्यरत चिनियाँ कामदारलाई फेरि ल्याउने विषय पनि सम्बोधन हुन सकेको छैन । नेपालमा सञ्चालित परियोजनामा कार्यरत चीनका कामदार कोभिड–१९ महामारीमा घर गएको दुई वर्ष हुन लागेको छ । उनीहरू नआउँदा पूर्वाधार निर्माण प्रभावित भएको छ । हुम्लाको नाम्खामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई जोडदारका साथ उठाउनु पर्छ । सीमा क्षेत्रमा उब्जेका विषयलाई द्विपक्षीय सहकार्य गरेर समाधान गर्न सुझाउनुपर्छ ।

यतिवेला नेपालसंग चिन सशंकित भएको छ । यस्तो अवस्थामा नेपालले आफ्ना एजेन्डा प्रस्तुत गर्दा आपसी विश्वास सबैभन्दा महत्त्वपूर्ण विषय हो । चीनसँग मित्रवत समझौता गरेका बिगतका प्रतिबद्धताहरु पूरा गर्नु नेपालको लागि पहिलो प्राथमिकता हुनु पर्छ । चिनिया विदेश मन्त्रि वाङ यीको आसन्न नेपाल भ्रमणले दुई देशविच केही समय यता चिसिएको सम्बन्ध सुधार होस । सबै प्रकारका आशंका निराकरण गरोस । विगतमा भएका व्यापार, रेल, तेल र विद्युत क्षेत्रका समझदारी कार्यान्वयन गर्न तथा बि आर र ई सहयोगलाई ठोस आकार दिन सफल होस् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved