म्याग्दीका सब स्टेसन निर्माणलाई गति दिन निर्देशन

  • मंसिर २८, २०७९
  • कालापानी मिडिया
alt

म्याग्दी । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुंगा र डाँडाखेत सब स्टेसन निर्माणलाई गति दिन निर्देशन दिएका छन्।

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदीशचन्द्र जोशीसहितको टोलीले मंगलबार मालिका गाउँपालिका–६ को रातोढुंगा र ७ को डाँडाखेतमा निर्माणाधीन सब स्टेसनको अनुगमन गरेका छन्।

अनुगमनपछि उनीहरुले सम्बद्ध आयोजनाका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्माणलाई तिव्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन्।
एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले डाँडाखेतदेखि राहुघाट जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माण थालेको छ। प्राधिकरण मार्फत नै सञ्चालित चार वर्षअघि नै सकिनुपर्ने ३३/११ केभी क्षमताको रातोढुंगा सब स्टेसनको काम अझै पूरा भएको छैन।

रातोढुंगा सब स्टेसन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन बिस्तार र विद्युत आपूर्ति प्रभावित भएको मालिका गाउँपालिका-१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए। मिलनचोक देखि रातोढुंगा जोड्ने प्रसारण लाइनको पोल गाड्न र तार तान्ने क्रममा विवाद भएपछि काम प्रभावित भएको आयोजना प्रमुख बोधराज ढकालले बताए।

५०० पोल गाडेर तार तान्नुपर्नेमा सिमलचौर लगायत ठाउँमा जग्गाधनीले विरोध गरेपछि ५० वटा पोल गाड्न र तार तान्ने काम रोकिएको उनले बताए। २०१६ मा एटुजेड इञ्जिनियरिङले कम्पनीले ठेक्का लिएको यो आयोजना ढिलो हुनुमा निर्माण कम्पनीको पनि कमजोरी भएको आयोजना प्रमुख ढकालको भनाइ छ।

पोल पर्ने जग्गाका धनीको अवरोधले पर्वतको जलजला गाउँपालिका-४ मोहनचोक देखि रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइन निर्माण प्रभावित भएको छ। आठ करोड रुपैयाँमा सन् २०१६ मा ठेक्का सम्झौता भएको सब स्टेसन र प्रसारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो।

सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता पाएको छैन।

निर्माण कम्पनीका प्रतिनिधि सागर लुइँटेलले सब स्टेसनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताए। कन्ट्रोल रुमको भवन निर्माण अन्तिम चरणमा छ। बिवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सब स्टेसन चार्ज गर्ने लक्ष्य सहित काम थालेको लुइटेलले जानकारी दिए।

बर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ। हालसम्म पोल गाड्ने, दुई वटा भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन्। पोल गाडिएको ठाउँमा तार समेत तानेका छन्। कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन्।

सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो। नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले स्थानीय स्तरमा देखिएका समस्या प्रशासन र पालिका, वडासँग समन्वय गरेर समाधान गरी काम गर्ने वातावरण बनाउने बताउदै घोषणा र प्रतिवद्धता अनुसार काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

गत जेठ महिनादेखि आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरु आयोजना स्थलमा थिएनन्। केही दिनअघि आएर काम गर्न थालेका छन्। रातोढुंगा सवस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालिका र मंगला गाउँपालीकामा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा विस्तारमा सहज हुने प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए।

हाल मिलनचोक सब स्टेसनबाट चार वटा फिडरबाट लामो दूरीमा विद्युत आपूर्ति गराउँदा समस्या भएको उनको भनाइ छ। २० किलोमिटर दूरीसम्म एउटा सब स्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपूर्ति गराउन समस्या भएको उनले जानकारी दिए।

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन डाँडाखेतमा सब स्टेसन र प्रसारण लाइन निर्माण शुरु भएको हो। डाँडाखेतमा ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सब स्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सब स्टेसन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

आयोजनाको ठेक्का अवधि ३० महिनाको छ। ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर स्वीचार्ड र कन्ट्रोल भवन निर्माण थालेको छ। डाँडाखेत सब स्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गर्न मिल्ने संरचना निर्माण भइरहेको छ। प्राधिकरणका निर्देशक जोशीले निर्माण कम्पनीलाई मजदुर, उपकरण थपेर निर्माणको कामलाई तीव्र पार्न निर्देशन दिए।

एसियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सब स्टेशन निर्माण गर्न लागिएको हो। म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। १२ वटा जलविद्युत् आयोजना निर्माणका क्रममा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved