नारायणगढ-मुग्लिन सडकका पुल बनाउन अझै एक वर्ष लाग्ने

  • मंसिर २८, २०७९
  • कालापानी मिडिया
alt

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।

आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।

उनले भने, ‘कोभिड-१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ।’ घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउछन् ।

विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ । सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिकरुपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो ।

कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ ।

जसका लागि एक करोड बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउछन् । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ ।

तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।

प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम रु ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।

दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved