माघभित्रै एक हुँदै प्रचण्ड-बाबुराम, के होला पार्टीको नाम ?

  • माघ ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको माओवादी आन्दोलनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा। बाबुराम भट्टराई परिपुरक हुन् । यी दुई नेताकै नेतृत्वमा जनयुद्ध भएको थियो । र, वर्तमान व्यवस्थाका मुख्य हिमायती पनि प्रचण्ड-बाबुराम नै हुन् ।

शान्ति प्रकृयापछि भने प्रचण्ड–बाबुरामको सहयात्राले निरन्तरता पाउन सकेन । संविधान निर्माण प्रकृया सम्पन्न भएपछि बाबुरामले नयाँ बाटो रोजे । ३१ जेठ २०७३ मा ‘नयाँ शक्ति पार्टी’ स्थापना गर्दै बाबुरामले नयाँ यात्रा तय गर्दा प्रचण्ड पुरानै पार्टीको मर्मत सम्भारमा जुटे । आधा दशकको ‘एक्लो यात्रा’मा दुबै नेताले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनन् । समावेशी चरित्रको वैकल्पिक प्रगतिशील-लोकतान्त्रिक, समाजवादी शक्ति निर्माण गर्दै देशलाई समतामूलक समृद्धिको दिशामा लैजाने बाबुरामको सपनाले मूर्तरूप लिन सकेन । माओवादीको अवस्था पनि उस्तै रह्यो । परिस्थितिले प्रचण्ड-बाबुराम दुवैलाई कमजोर बनायो । संसदीय राजनीतिमा अझ धेरै अभ्यस्त हुँदै गएको प्रचण्ड र उनको पार्टी निरन्तर राजकीय भोगमा अभ्यस्त हुँदै गए पनि निर्दिष्ट लक्ष्य भेटाउने आधारसमेत बनाउन सकेन । बाबुरामको वैकल्पिक शक्ति निर्माणका एक-एक प्रयासहरू असफल भए ।

पछिल्लो समय बाबुरामले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन् । केही साता अघि सम्पन्न नेसपाको राजनीतिक समितिले समाजवादी केन्द्र निर्माणका लागि औपचारिक निर्णय गर्दै वार्ता समिति बनाएको छ । यो सँगै, प्रचण्ड-बाबुराम पुनः एकठाउँमा हुने औपचारिक प्रकृया प्रारम्भ भएको छ । त्यसो त मंसिर ४ को निर्वाचन अघि नै माओवादी र नेसपाबीच एकताका लागि आधारभूत सहमति भएकै थियो । यसै आधारमा यी दुई पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लडेका थिए । केही समय अगाडि मात्र गठन भएको नेसपाले प्रतिनिधिसभामा १ र प्रदेशसभामा दुई सदस्य जितेको छ ।

barta samiti

                                                                     एकताका लागि गठित वार्ता समितिका सदस्यहरु

एकताका लागि गठित वार्ता समितिका सदस्यहरुदुई पार्टीबीचको एकताका लागि बनेको वार्ता समितिको बैठक शनिबार सम्पन्न भयो । वार्ता समितिले एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार गरि पेश गर्ने, दुबै पार्टीको विधान, प्रतिवेदनलगायत दस्तावेज आदानप्रदान गर्ने र माघ १० गते दोस्रो बैठक बस्ने निर्णय गरेको छ । र, वार्ता समितिहरूले सोही अनुसार काम थालेका छन् । वार्ता समितिको बैठक पछि नेसपाका सहअध्यक्ष गंगा श्रेष्ठले भने- ‘सैद्धान्तिक वैचारिक विषयहरुमा छलफल प्रारम्भ भएको छ । वार्ता समितिको दोस्रो बैठकसम्म पुग्दा धेरै कुरा टुंगो लागिसक्छ । हामी छिट्टै एक हुँदै छौं भनेर बुझ्दा हुन्छ ।’

नेसपासँग एकताका लागि वार्ता समिति नै गठन गरेर काम अघि बढाए पनि माओवादीले यस विषयमा ठोष निर्णय गरिसकेको छैन । तर, आगामी केन्द्रीय समितिको बैठकबाट माओवादीले यस विषयमा निर्णय गर्दैछ । माघ १५, १६ र १७ गते माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ ।

एकताको सैद्धान्तिक वैचारिक आधार के ?
संगठनात्मक रुपमा माओवादी र नेसपाबीच एकताका लागि खास ठूलो समस्या छैन । तर, कस्तो आचरणको पार्टी बनाउने भन्ने सन्दर्भमा केही मतभेद देखिन्छ । किनकी, बाबुरामले कम्युनिष्ट पार्टी नभएर गैरकम्युनिष्ट आचारणको समाजवादी पार्टी निर्माण गर्नुपर्ने जोड दिँदै आएका छन् ।

अबको यात्रा समाजवाद भन्ने बुझाइमा भने दुवै पार्टीमा मतभेद छैन । तर, कस्तो समाजवाद भन्ने विषयमा भने दुवै पार्टीले नयाँ ढंगबाट संश्लेषण गरिसकेका छैनन् ।

नेसपाका सहअध्यक्ष श्रेष्ठ भन्छन्- ‘कम्युनिष्ट या गैरकम्युष्टि कस्तो पार्टी बनाउने भन्दा पनि कस्तो समाजवाद रु भन्ने विषयमा छलफल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । किनकी, अबको यात्रा समाजवाद भन्ने सन्दर्भमा दुबै पार्टीमा अलमल छैन । तर, समाजवादको चरित्रबारे हामी गम्भीर छलफल गर्नेछौं । त्यसपछि मात्र निचोडमा पुग्छौं ।’

कम्युनिष्ट धारका शक्तिहरुलाई एक ठाउँमा ल्याउने सन्दर्भमा पार्टीको नाम कम्युष्टि राख्दा सम्भव नहुने विषयमा प्रचण्ड पनि सहमत नै देख्न्छि । र, बाबुरामसहित अन्य शक्तिहरुलाई पनि एकीकृत गर्ने सन्दर्भमा ‘कम्युष्टि केन्द्र’को विकल्पको रुपमा ‘समाजवादी केन्द्र’ निर्माण गर्न सकिने बुझाइ प्रचण्डको रहेको छ । यस आधारमा पनि प्रचण्ड-बाबुराम एक हुने सन्दर्भमा खासै ठूलो समस्या नरहेको नेताहरु बताउँछन् ।

एकतापछि पार्टीको नाम के हुन्छ ?
माओवादी र नेसपाबीचको एकतापछि बन्ने पार्टीको नाम के होला भन्ने चासोको विषय बनेको छ । यस विषयमा पनि मध्यामार्गी बाटो रोजिने देखिन्छ ।

दुबै तर्फका नेताहरु एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै नरहनेमा ढुक्क छन् । बरु, दुबै पार्टीको अस्तित्व समेट्नेगरी नामको खोजि भइरहेको बुझिन्छ । यस्तो अवस्थामा एकतापछि बन्ने पार्टीको नाममा नेकपा र समाजवाद वा समाजवादी जोडिने विषयमा छलफल चलिरहेको छ ।

यी दुई पार्टीबीच आगामी दिनमा कम्युनिष्ट धारमा अन्य पार्टीहरुलाई पनि एकीकृत गर्न मिल्ने गरी नाम जुराउनुपर्ने विषयमा छलफल चलेको छ । किनकि, माओवादीले नेकपा एकीकृत समाजवादी लगायतका शक्तिहरुसँग पनि एकताका लागि छलफल चलाइरहेको छ ।

कसको जिम्मेवारी के होला ?
वार्ता समितिहरूले औपचारिक रुपमा सैद्धान्तिक वैचारिक विषयहरुमा छलफल अघि बढाएसँगै दुबै पार्टीमा अन्य विषयहरुमा समेत छलफल अघि बढेको छ । एकता हुँदा बाबुराम लगायत नेसपाका शीर्ष नेतृत्वको जिम्मेवारीको सन्दर्भमा छलफलहरु भइरहेका छन् ।

पार्टी एकता हुँदा प्रचण्डपछिका नेताका रुपमा बाबुराम निर्विकल्प नेतृत्व हुन् । यो विषयमा दुबै पार्टीका नेता अन्योलमा छैनन् । हाल माओवादीमा प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ रहँदै आएका छन् । उनी, वरिष्ठ उपाध्यक्ष हुन् । तर, नेसपासँग एकता हुने अवस्थामा बाबुरामभन्दा पछिको वरीयतामा रहन नारायणकाजी तयार छन् । किनकी, पार्टी एक हुँदा प्रचण्डपछिको वरीयतामा बाबुराम नै थिए ।

बाबुरामको वरीयता र जिम्मेवारीका सन्दर्भमा समस्या नरहे पनि नेसपाका अन्य शीर्ष नेताको वरीयता र जिम्मेवारीका सन्दर्भमा केही मतभेदहरु हुनसक्ने देखिन्छ । तर, पार्टी विभाजन भएको मितिमा रहेको जिम्मेवारीलाई आधार मानेर सोही जिम्मेजारीमा रहँदै हाल माओवादी नेताले पाएको नयाँ जिम्मेवारीको हारहारीमै उनीहरुको व्यवस्थापन गर्ने तयारी गरिएको माओवादीका एक नेताले बताएका छन् ।

कहिलेसम्म होला एकता ?
अहिलेसम्मको तयारी हेर्दा माघ महिनाभित्रै दुई पार्टीबीच एकता हुने बुझिन्छ । वार्ता समितिहरूले पनि माघ महिनाभित्रै एकता सम्पन्न गर्नेगरी काम अघि बढाएका छन् ।

माओवादीबाट गठित वार्ता समितिका एक सदस्यले भने- ‘एकताका लागि मानसिक रुपमा हामी तयार भइसकेका छौं । दुबैतर्फ केही समस्या छैन । त्यसैले माघ महिनाभित्रै एकता सम्पन्न गर्नेगरी तयारीमा जुटेका छौं । यसै आधारमा भन्दा माघ महिनाभित्रै हामी एक हुँदैछौं भनेर बुझ्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved