विराटनगर । विराटनगरसँग जोडिएको जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ । नाका बन्द हुँदा अत्यावश्यक मालवाहक सवारीसाधन बाहेक सर्वसाधारणहरुको आवतजावतमा पुर्णतः रोक लगाईएको छ ।
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनसँग सीमा जोडिएका सबै नाकाहरु एक साताका लागी बन्द गर्ने निर्णय गरेसँगै विराटनगरस्थित रानी भन्सार पुर्ण रुपमा बन्द भएको छ । नाका बन्द हुँदा नेपालमा काम गरिरहेका भारतीय नागरिकलाई चेकजाँच गरि भारत प्रवेश गर्न दिईएको छ भने अन्य जो कोहीलाई प्रवेशमा रोक लगाईएको छ ।
प्रदेश सरकार र विराटनगर महानगरपालिकाको समन्वयमा गत फागुन २७ गतेदेखि रानी भन्सारमा व्यवस्था गरिएको हेल्थ डेस्कबाट दैनिक ९ हजारदेखि २६ हजारसम्म सर्वसाधारणहरुको आवतजावत हुने गरेको थियो । रानी भन्सारमा राखिएको हेल्थ डेस्कमा फागुन २८ गतेदेखि चैत्र १० गते सोमबार दिउँसो २ सम्म मात्रै १ लाख ५ हजार ३ सय ७८ जना सर्वसाधारणहरुले चेकजाँच गराएका थिए । तर आम सर्वसाधारणहरु क्रमशः कारोना भाईरसबारे सचेत हुँदै गएपछि तुलनात्मक रुपमा चेकजाँच गराउनेको सङख्या पनि उकालो लाग्दै गएको थियो । यद्यपि नेपाल सरकारले सीमा नाका बन्दको घोषणा गरेपछि चेकजाँच गराउनेको संख्या ओरालो लाग्दै गएको हेल्थ डेस्कका स्वास्थ्यकर्मी ध्यानचन्द चौधरीले बताउनुभयो ।
विराटनगर महानगरपालिकाको दक्षिणतर्फका १५, १६, १७ र १८ नं लगायतका ४ वटा वडाहरुको सीमा भारतसँग जोडिएको छ । भारतमा पनि कोरोना भाईरसको प्रभाव र सङक्रमण फैलिदै गईरहेको अवस्थालाई मध्यनजर विराटनगर महानगरपालिकाले सर्वपक्षीय भेला गरी संघीय सरकारलाई सीमाक्षेत्र बन्द गर्नुपर्ने आग्रह सहितको पत्र पठाएको थियो । यससँगै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार चैत १० गते बिहान १० बजेदेखि चैत्र १६ गतेसम्म सबै नाकाहरुमा आवागमन स्थगित गर्ने निर्णय गरेको हो । हाल भने सीमा नाकामा मालबाहक र सिकिस्त बिरामी बोकेका सवारीसाधनलाई निर्वाध रुपमा आवागमन गर्न दिईएको जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख मदन भुजेलले बताउनुभयो ।
सम्बन्धित बिषयमा बोल्नुहुँदै उद्योग सङगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारले सीमा नाका बन्दा गर्नमा ढिलाई गरेको बताउनुभयो । उहाँले सरकारको ढिलासुस्तीका कारण धेरै आम सर्वसाधारणहरु नेपाल भित्रिएकाले कोरोनाको जोखिम झनै बढेको जिकिर गर्नुभयो ।
यता स्थानीय व्यापारीहरु तथा व्यापार संघहरुले भने सीमा नाका बन्द हुँदा व्यापार व्यावसायमा प्रतिकुल असर परे पनि सरकारको यो निर्णयप्रति सन्तुष्टि व्यक्त गरेका छन । उनीहरुले व्यापार भन्दा स्वास्थ्य ठुलो रहेको बताउँदै सरकारको यो निर्णयले कोरोना भाईरसको जोखिम न्युनीकरण हुने विश्वास व्यक्त गरेका छन । विराटनगरका व्यापार संघहरुले पनि कोरोना भाईरसको बढदो जोखिमलाई न्युनीकरण गर्दै मङ्गलबारदेखि लकडाउनको घोषणा समेत गरेका छन । उनीहरुले सम्पुर्ण व्यापारी व्यावसायी तथा आम उपभोक्तालाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह समेत गरेका छन ।
त्यस्तै लकडाउनको आम उपभोक्ताहरुमा सबैभन्दा बढी खाद्यान्न र खाना पकाउने ग्यासको अभाव सिर्जना हुनसक्ने भएको हुँदा स्थानीय निकाय वा प्रदेश सरकारले विराटनगरको फरक ठाउँमा फरक समयमा खाद्यान्न र ग्यासको पसल खुल्ला गर्न दिने वातावरण मिलाउनु आवश्यक रहेको रिजालको ग्यासका सञ्चालक नविन रिजालले बताउनुभयो ।
सरकारले लकडाउनको घोषणा गरेसँगै व्यापार व्यावसाय मौलाउन थालेपनि आम नागरिकको स्वास्थ्यमा भने प्रतिकुल असर नपर्ने विश्वास लिईएको छ । व्यापारी व्यावसायीहरुले पनि धन भन्दा स्वास्थ्य ठुलो भन्ने बिषयमा दुईमत छैनन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved