आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने, विद्यालय बन्द गरिरहे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी

  • आश्विन ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

विद्यालय बन्द गरिरहे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी
यता शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा परेपछि स्थानीय तहहरुले चासो दिएका छन् । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भएपनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न उनीहरुले अनुरोध गरेका छन् ।

पालिकाहरुले पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि विद्यार्थी संगठनले चर्को शुल्क लिएको भन्दै विद्यालयहरुमा ताला लगाउँदा पनि महानगरले ताला फुटाएर पठनपाठन सुचारु गराएको थियो ।

बुधबार साँझ मात्र काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

लगतै महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘उहाँहरुको आन्दोलनको विरुद्धमा होइन, विद्यार्थीको भविश्य अन्धकार पारेर आन्दोलन गर्नुहुँदैन’ महानगरको शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइराला भन्छन्, ‘यदि हाम्रो अनुरोधलाई बेवास्ता गरेर विद्यालय बन्द गरेर आन्दोलन गर्न जानुभएछ भने कारबाही गर्ने प्रकृया अगाडि बढ्छ ।’

काठमाडौं महानगरभित्र ९० वटा विद्यालयमध्ये ५९ वटा माध्यामिक र बाँकी आधारभूत विद्यालयमा दुई हजार २०२ जना शिक्षक कार्यरत छन् । महानगरपालिकाले अनुगमन समिति बनाएर बिहीबार अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

ललितपुर महानगरले पनि विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेको छ । शिक्षा अधिकृत महेन्द्र क्षेत्री भन्छन्, ‘विद्यालय बन्द गरेर आन्दोलन नगर्न अनुरोध गर्छौं । विद्यार्थीको पढाइ प्रभावित हुन भएन ।’

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि विज्ञप्ति निकालेर आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, सुनसरीको इनरुवा नगरपालिका, दुहबी नगरपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका लगायतले विद्यालय बन्द नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।

नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले संविधानले व्यवस्था गरेको बालबालिकाको मौलिक हक हनन हुन नदिने बताए । ‘शिक्षक साथीहरुको कतिपय माग जायज छन्, त्यसमा हाम्रो पनि नैतिक समर्थन छ तर विद्यार्थीको पढ्न पाउने मौलिक हक नै हनन हुने गरी विद्यालय बन्द गर्ने कुरामा हाम्रो सहमति छैन’ उनले भने ।

नगरपालिका संघले संविधानले सुनिश्चित गरेको बालबालिकाको पढ्न पाउने मौलिक हक हनन नगर्न अनुरोध गरिसकेको भन्दै उनले त्यत्ति हुँदा पनि विद्यालय बन्द भए अधिकार प्रदत्त कारबाहीको प्रकृया अगाडि बढाउन बाध्य हुने बताए ।

गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण बहादुर शाही विद्यालय बन्द गर्ने कदममा समर्थन नरहेको बताउँछन् । ‘शिक्षकहरुको हक अधिकार सुनिश्चित गर्ने कुरामा हाम्रौ सदैव समर्थन रहन्छ तर संविधानको मर्म विपरीत विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित हुने कुरामा हाम्रो समर्थन हुने छैन,’ शिक्षक र संघीय सरकारले वार्तामार्फत समाधान खोज्नुपर्ने भन्दै उनले भने ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकामा विद्यालय बन्द नहुने बताए । ‘हाम्रो नगरपालिकामा कहिल्यै कुनै पनि कारणले विद्यालय बन्द हुँदैन,’ उनले भने, ‘यदि कुनै विद्यालय बन्द भएको पाइए कारबाही कस्तो गर्ने भन्ने तत्काल निर्णय गर्छौं । अहिलेसम्म बन्द हुने कुनै संकेत छैन ।’

शिक्षाविद् प्रा।डा।लक्ष्मण ज्ञवाली भने विधेयक बनाउने प्रकृयामा राज्य चुकेको कारण यो अवस्था आएको बताउँछन् । ‘कानुन बनाउनुपर्ने कुरा सांसदले नेतृत्व गर्नुपर्छ, तर यसमा कर्मचारीले नेतृत्व गरेको देखियो,’ उनले भने । त्यसैले शिक्षकहरुले आफ्नो असन्तुष्टि पोख्न र समस्या राख्न आन्दोलन गर्नु जायज भएको उनले बताए । तर आन्दोलन लम्बियो भने शिक्षक दोषी हुने उनी बताउँछन् ।

‘शिक्षकहरुले विधेयकमा विमति औंल्याइसक्नु भएको छ अब यसलाई सरकारले सम्बोधन गर्नुपर्छ,’ शिक्षाविद् प्रा.डा. ज्ञवाली भने, ‘थप दबाबका लागि अझै एक दिन आन्दोलन गर्न सक्नुहुन्छ, तर त्योभन्दा बढी लैजानु हुँदैन । माग सम्बोधन नभएसम्म आन्दोलन गर्छौं भनिरहे भने शिक्षकहरु दोषी हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved