आजबाट सोह्र श्राद्ध सुरु

यो अवधिमा के गर्न मिल्छ, के मिल्दैन ?

  • आश्विन १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतमको भनाइ छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने उनको भनाइ छ । कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।
ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने

दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ।

हिन्दु धर्मावलम्बिले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन्। पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उचाई र महत्त्वलाई थप स्पष्ट पार्छ।

पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिवारजनको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखेर पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ। जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनको आत्मालाई शान्ति प्राप्त हुन्छ।

पितृ कार्य गरी दिइएको पिण्ड तर्पण भोजनमा परिणत भएर पितृहरूले पाउँछन् भन्ने मान्यता छ। यस अवसरमा विभिन्न ठाउँमा चौतारी रहेका पितृहरूलाई आ–आफ्नो ठाउँमा गई पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टीसमेत दिन्छन् भन्ने मान्यता छ।

सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ। यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ। यसका साथै काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ। घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन्।

शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन। यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने विश्वास छ। श्राद्धको दिन हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गर्नु हुँदैन भन्नेसमेत मान्यता रहेको छ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ त ?
-जसको अपमृत्युमा भएको छ जसमा कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
-जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
-काल गतिले मरेकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।
- सौभाग्यवती महिला अर्थात् पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि केवल पितृ पक्षको नवमी तिथिमा गर्नु भन्ने कुरा उल्लेख छ।
- सन्यासीहरूको श्राद्ध केवल पितृ पक्षको द्वादशीमै गर्नुपर्छ।
- मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध केवल अश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्र उल्लेख छ।

सोह्र श्राद्धमा गर्न हुने र गर्न नहुने काम ?
शास्त्रअनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी तर शरीरमा सुन, तेल र साबुनको संसर्ग नगरी एक छाक ‘एकछाकी’ सात्विक भोजन गरी चोखोनीतो रूपमा बस्नु पर्छ। श्राद्धका दिन र सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन। श्राद्धमा मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरूको प्रयोग गर्नु हुँदैन।

श्राद्धको दिनमा हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगानलाई निषेधित गरिएको छ। एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नु हुँदैन। पूर्ण ब्रहृमचार्यको पालना गर्नुपर्दछ। दिउँसो सुत्नु वा निदाउनु हुँदैन र राति पनि भुईँमा एकसरो ओछ्यान लगाएर शयन गर्ने परम्परा रहेको छ।

महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ। पितृ पक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ। यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन।

श्राद्ध पक्षमा घरमा रङ्ग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्नसमेत बर्जित छ। भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved