नेपालका दीपेन्द्रसिंह ऐरीको चर्चा भारतीय मिडिया देखी सामाजीक संजालभर, भन्छन् ऐरीको रेकर्ड तोडिन बनेको हैन !

  • आश्विन १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । वैसे त रेकर्ड तोड्नेकी लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्, ‘लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।’

आलोकले भनेजस्तै रेकर्डहरू तोडिनैका लागि बन्ने गर्छन्। तर केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, ऐरीका नाममा। चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा मंगोलियाविरुद्ध ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाए। उनको यो रेकर्डले संसारभरका क्रिकेटप्रेमीलाई आश्चर्यमा पारिरहेको छ। नौ बलमा उनले बनाएको अर्धशतक सोझो हिसाबमा कहिल्यै तोडिने छैन। सबैलाई थाहा छ, सोझो आठ बलमा त ४८ भन्दा बढी बन्न सक्दैन।
खासमा यो खेलले अन्तर्राष्ट्रिय स्तरमा केही प्रभाव पार्न सक्दैनथ्यो। असामान्य रेकर्डले समग्र खेललाई नै असामान्य बनायो। त्यसैले भारत र अस्ट्रेलियाको खेलभन्दा पनि यो खेलको रेकर्डले धेरै चर्चा पायो।

क्रिकेटमा धेरै कुरा सम्भव छ। तर त्यही क्रिकेटमा केही रेकर्डचाहिँ असम्भव जस्तै मानिन्छ विगतका खेलका आधारमा। जस्तो यसअघि भारतका पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्ध शतकको कीर्तिमान। असम्भवजस्तै मानिएको सन् २००७ मा कायम भएको उक्त कीर्तिमान १६ वर्षसम्म अटुट रह्यो। तर रेकर्ड तोडिनैका लागि बन्छ भनेजस्तै सिंहको ‘राजा रेकर्ड’ बुधबार बिहानै तोडियो। त्यो पनि भर्खरै क्रिकेटमा अगाडि बढ्दै गरेको नेपाली टोलीका खेलाडीबाट।

नेपालका खेलाडी ऐरीले नौ बलमा बनाएको अर्धशतकचाहिँ अब तोडिन नसक्ने धेरैको अनुमान छ। यसको केही कारण पनि छ। केही अपवादबाहेक कसैले आठवटै बलमा छक्काछक्का हाने पनि ५० रन बनाउन सक्दैन, ४८ मात्र बन्छ। नौ बल खेलेलगत्तै त्यो रेकर्ड ऐरीको बराबरीको हुन्छ।

तसर्थ सम्भवत तोडिँदैन। ‘जसले जतिसुकै छक्का प्रहार गरे पनि आठ बलमा अर्धशतक बन्दैन,’ सामाजिक सञ्जालमा अमित जैसवाल लेख्छन्, ‘नौ बल खेलेपछि बराबरी होला तर तोडिन मुस्किल पर्छ।’ क्रिकेटका नो बललगायतका अन्य नियमले उक्त रेकर्ड तोडिन सक्ला–नसक्ला तर सिधा हिसाबमा कहिल्यै नतोडिने उनी बताउँछन्।

यही अविश्वसनीय रेकर्डले होला मंगोलियाविरुद्धको सोही खेलमा युवा ब्याटस्म्यान कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेबिड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको भन्दा पनि ऐरीको अर्धशतकले धेरै चर्चा पाएको छ।

मल्लले ३४ बलमा शतक पूरा गर्दै शर्मा, मिलर र चेक रिपब्लिकका सुदेश बिक्रमासिंघेका नाममा रहेको ३५ बलमा शतकको कीर्तिमानलाई पछि पारेका हुन्। किनकि सतक ३० बलमा पनि पूरा हुन सक्छ, २५ बलमा पनि पूरा हुने सम्भावना रहन्छ।

मंगोलियाविरुद्ध बुधबार नेपालले खेलेको खेलमा अन्य थुप्रै विश्व रेकर्डसमेत बने। क्रिकेटमा अघि बढ्दै गरेको सानो देश नेपालका खेलाडीले गरेको अविश्वसनीय प्रदर्शनले खेलको हारजितभन्दा पनि रेकर्डको भरमार चर्चा बटुल्यो।

छिमेकी मुलुक भारतका मिडियामा त यो रेकर्डले निकै स्थान पायोे। क्रिकेटमा नेपालको नाम मुस्किलले लिइने भारतीय मिडियाका खेल पृष्ठ नेपाली खेलाडीले बनाएका रेकर्डका समाचारले भरिए। कतिपयले मंगोलिया कमजोर देश भएकाले नेपालले रेकर्ड बनाउन पाएकोसमेत लेखे। धेरैले नेपाली टोलीले निकै राम्रो प्रदर्शन गरेको लेखे। ‘सानो बच्चासँग खेले पनि त्यति धेरै छक्का र त्यति धेरै रन बनाउन मुस्किल पर्छ,’ भारतीय पत्रकार शुभंकर मिश्र भन्छन्, ‘कमजोर टिमभन्दा पनि उत्कृष्ट नतिजा स्वागतयोग्य छ।’

कतिपय समाचारमा त भारतका लागि नेपालजति कमजोर हो, सायद त्यति नै कमजोर नेपालका लागि मंगोलिया भएको हुन सक्ने आकलन गरे। ‘तर खै त हामीले नेपालमाथि त्यत्रो रेकर्ड बनाउन सकेनौ,’ मिश्र भन्छन्, ’त्यसैले मंगोलियाविरुद्धको यो रेकर्ड नेपाली क्रिकेटको सुखद क्षण हो।’

भारतका चर्चित क्रिकेट कमेन्टरले हर्ष भोगलेले अस्ट्रेलिया र भारतबीचको खेलको कमेन्ट्री गरिरहेको समयमा नेपालको कीर्तिमानी रेकर्डबारे पनि चर्चा गरेका थिए। ‘नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाए,’ उनले भने, ‘१२ बलमा ५० रन बनाएका युवराज सिंहले पनि यो थाहा पाएर गर्व गरे होलान्।’

मंगोलियाविरुद्ध नेपालले खेलेको खेलमा अन्य थुप्रै कीर्तिमान तोडिए। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानको वर्षा गर्‍यो। खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमानी योगफल खडा गर्‍यो।

यो योगफल ट्वान्टी–२० क्रिकेटमा ३६ रन बढीले सबैभन्दा विशाल हो। यसअघि सन् २०१९ मा अफगानिस्तानले ९आयरल्यान्ड विरुद्ध २७८र३० र चेक रिपब्लिकले ९टर्कीविरुद्ध २७८र४० संयुक्तरूपमा ट्वान्टी–२० विशाल योगफलको कीर्तिमान बनाएका थिए।

त्यसैगरी नेपालले आफ्नो इनिङमा २६ छक्का र १२ चौका प्रहार गर्‍यो। यो कुनै पनि टोलीले ट्वान्टी–२० क्रिकेटमा बनाएको सर्वाधिक छक्काको कीर्तिमान हो। नेपाली टिमका मल्लले १२ छक्का र ऐरीले आठ छक्का हाने।

जबाफी ब्याटिङ गरेको मंगोलिया १३।४ ओभरमा ४१ रनमै अलआउट हुँदा नेपालले २७३ रनको फराकिलो जित निकालेको हो। यो नतिजा पनि ट्वान्टी–२० क्रिकेटमा अहिलेसम्मकै फराकिलो हो। नेपालले चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको विश्व कीर्तिमानलाई पछि पारेको हो।

अन्त्यमा यी सबै रेकर्डभन्दा पनि ऐरीको रेकर्ड धेरै चर्चाको विषय बन्यो। ‘यी रेकर्ड तोड्न मुस्किल ही नामुमकिन है,’ हिन्दी सिनेमा डनको शैलीमा नेपाली क्रिकेटको तारिफ गर्दै सामाजिक सञ्जालमा जफुर खान लेख्छन्, ‘नौ बलमे ५० रन यो अब असम्भव है।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved