तिर्थयात्रामा निस्केका १४ जना नेपाली भारतमा अलपत्र परेका छन् । भारत सरकारले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि २१ दिने ‘लकडाउन’ गरेपछि पाँचथरको फालेलुङ गाउँपालिका १ का तीन जना सहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि निस्केका १४ जना अलपत्र परेका हुन् ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि २१ दिने लाकडाउन सुरु भएपछि आफूहरु बाटैमा अलपत्र परेको पाँचथर फालेलुङ गाउँपालिका १ का ७० वर्षीय मुक्तिनाथ खतिवडाले बताए ।
आफुहरु अहिले दक्षिणी भारतको चेन्नई भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उनले जानकारी दिए । आफुहरु रहेको क्षेत्रमा बस्ती पातलो रहेको र स्थानीयले बास दिन नमान्दा झनै समस्या भएको अर्का तीर्थ यात्री गोविन्द पोखरेलले बताए ।
सडकमा पार्क गरेर राखेका गाडीमा ओत लागेर रात बिताउनुपरेको उनको भनाइ छ । साथमा लिएर गएको खाना र पानी सकिएपछि बिचल्ली भएको उनले बताए । सोमबारदेखि भारतमा लकडाउन घोषणा गरिएपछि उनीहरु अलपत्र परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved