चितवन १६ चैत : लकडाउनको समयमा प्रयोजनविपरीत मानिस ओसार्ने अत्यावश्यक सामग्री ढुवानीका १६ वटा सवारी साधन साधनलाई जिल्ला ट्राफिक प्रहरी चितवनले कारबाही गरेको छ । ट्राफिकले दुई दिनमा तीन भारतीयसहित १६ वटा सवारी साधनलाई कारबाही गरेको छ । चैत १४ गते दुई वटा भारतीय नम्बर प्लेटको पिकअप र चार वटा नेपाली ट्रकलाई आँपटारीमा पक्राउ गरी कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । अत्यावश्यक सामग्री ढुवानी गर्ने छ वटामध्ये पाँच वटा गाडीले काठमाडौँदेखि र एउटाले धादिङदेखि मानिस ओसारेर ल्याएका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले जनही तीन हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गराएर यात्रुलाई चढाएको ठाउँमा नै झार्ने गरी पुनः फिर्ता पठाइएको छ । चैत १४ गते नै एक भारतीयसहित ९ वटा ट्रकलाई मौवा खोलामा नियन्त्रणमा लिई यात्रु चढाएको ठाउँमा नै फिर्ता पठाइएको प्रहरी निरीक्षक भट्टले बताए । नौ वटा ट्रकले २७० यात्रुलाई लिएर चितवनतर्फ आउँदै गर्दा नियन्त्रणमा लिइएको उनले बताए । उनीहरुलाई भने जरिवाना नगरिएको उनको भनाइ छ । चैत १५ गते चार यात्रु बोकेको एउटा ट्रकलाई भरतपुरको मालपोत चोकबाट नियन्त्रणमा लिई फिर्ता पठाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved