सर्वदलीय संयन्त्र गठन गर्न सरकारलाई राप्रपाको सुझाव

  • बैशाख ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘कोरोना भाइरसका सन्दर्भमा सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिएको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा र डा।प्रकाशचन्द्र लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुने सुझाव समेत दिएका हुन् ।

‘विश्व इतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ ।’

राप्रपाले ‘कोभिड १९’ महामारीको अग्रिम पंक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारणमाथि ज्यादती भएको भन्दै यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रहसमेत गरेको छ । सरकारले यो बेला बल प्रयोग होइन, सही सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको भन्दै राप्रपाले सरकारको कार्यशैली प्रभावकारी नरहेको जनाएको छ । ‘यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भए पनि अबिलम्ब कारवाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको वैदेशिक रोजगार क्षेत्र अहिले गम्भीर संकटमा परेको उल्लेख गर्दै राप्रपाले विश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाइरसको जोखिममा रहेको र अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको वास्तविकतातर्फ सरकारको ध्यानाकर्षणसमेत गराएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षा अवस्थावारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न, जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका तथा अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भए पनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, कोरोना भाईरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकारात्मक प्रभाव पार्ने निश्चित रहेको भन्दै राप्रपाले त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिलेदेखि नै अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबर्द्धन सम्बन्धी कार्यक्रम तयार गर्न पनि सरकारलाई सुझाव दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउन पनि विज्ञप्तिमार्फत राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहँदै नेपाल-भारत सीमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । ‘आफु बसेको ठाउँमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौँ किमि हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्यसम्म पु¥याउन राप्रपा सरकारसँग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषि क्षेत्र पनि प्रभावित भएको भन्दै विज्ञप्तिमा पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषि सम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।
कोरोना भाईरसको महामारीले विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखापर्न थालिसकेको जनाउँदै राप्रपाले ‘यसबारे पछि सोचौंला’ भन्ने मानसिकताबाट मुक्त भई अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘साथै, मजदुर, रोजगारदाता, उद्योग बाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र सुविधा उपलब्ध गराईनु पर्दछ । समयमा त्यसवारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ । कोरोनाभाईरसको प्रकोपले विश्वका सबै धनी र गरिब राष्ट्रहरुको अर्थतन्त्रमा गम्भीर र नकरात्मक असर पारेको परिप्रेक्षमा नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय र फोरमहरुमा अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई वर्षसम्मका लागि व्याज मिनाह गर्न र नेपालजस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाहाका लागि प्रस्ताव गर्नुपर्ने धारणा पनि राप्रपाले राखेको छ ।

‘वर्तमान संकटको घडीमा सामाजिक सांस्कृतिक सद्भाव खल्बल्याएर निहित स्वार्थ पूर्ति गर्न चाहने प्रवृत्ति देखापर्न सक्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो भाईरसको खतरा कुनै धर्म, जात, समुदाय र देशविरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जातीमाथि आईलागेको संकट हो । त्यसर्थ, परस्पर सदभाव र एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ ।

93888736_3218573338206687_7950646267816706048_o 93250582_3218573488206672_3207447629231292416_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved