वर्षौंदेखि ओझेलमा परेको सहस्रधारा पर्यटकीय स्थल बन्दै

  • आश्विन २७, २०७६
  • कालापानी मिडिया
alt

बागलुङ : दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनै रहेको थियो । पर्यटक पर्खिरहेको थियो । गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजो आज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुँदैछ ।

जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा क्षेत्रको विकासमा जुटेका छन् । विसं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पायो। गत असारमा पहिलो पटक व्यावसायिक रुपमा खेलाइयो। छाँगावरोहण खेलपछि झरनाबारे धेरैले थाहा पाए । बाहिर प्रचार पनि भयो ।सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) शुरु गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनु भयो ।

“पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उहाँले भन्नुभयो, “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ ।” यसपालि दशैँको बिदामा पनि झरना घुम्नेको सङ्ख्या बढ्यो । छाँगाव रोहणका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा राम्रो गन्तव्य हो । जङ्गलले घेरिएको अक्करे भिरमुनि झरना अवस्थित छ ।झट्ट जङ्गल छेउ पुग्दा लाग्दैन, झरना छ ।

केही बेरको पदयात्रामा खोचमा पुगिन्छ । तब बल्ल देखिन्छ, मनमोहक झरना । ८६ मिटर अग्लो झरनाले मनै लोभ्याउँछ । वडाध्यक्ष भण्डारी सहित केही युवाले शुरुमा झरनामा छाँगावरोहण गर्ने बारे सोचेका थिए । अन्ततः त्यही जुक्तिले काम ग¥यो, छाँगावरोहण सफल भयो । साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) का लागि नयाँ गन्तव्य पहिचान भयो ।

स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको प्रवद्र्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ। वडामार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग भित्रिएको छ । वडाध्यक्ष भण्डारीका अनुसार ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ ।

‘क्यानोनिङ’ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालीममा पठाउने वडाको तयारी छ । विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) मार्फत काम अघि बढाइएको सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो । यही वर्ष ‘क्यानो निङ’मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइने भएको छ ।

नगर पालिकाबाट गत आवमा विनियोजित रु पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचा लगायत संरचना बनेका छन् । चालू आवमा पनि नगरपालिकाले रु चार लाख बजेट छुट्टाएको छ । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले गत आवमा रु १२ लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट उद्यान, पोखरी निर्माण, वृक्षरोपण लगायतका काम गरिएको छ । साहसिक खेलका माध्यमबाट सहस्र धाराको पर्यटकीय विकास गरिने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनु भयो । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने उहाँको भनाइ छ । सहस्रधारालाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने स्थानीयवासी बताउँछन् ।

सहस्र धारामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् । गलकोट, हटिया बजारदेखि दुई किमि मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदल हिँडे जम्मा ३० मिनेटमा पुगिन्छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमि यात्रापछि गलकोट आइपुग्छ । (रासस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved