काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
दल दर्ताको निवेदन दिन दलका उपेन्द्र यादव, राजेन्द्र महत्तो, राजेन्द्र श्रेष्ठ, शरतसिह कृष्ण शर्मा, फणेन्द्र देवकोटा, मिथेलेश कुमार सिंह लगाएतका नेताहरु आयोग पुगेका थिए । दल दर्ताका लागि निवेदन दर्ता भएको र प्रक्रिया पुगेपछि दल दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा पुगेका जनता समाजवादीका नेताहरुले आफ्नो पार्टी फुटाउन दलसम्बन्धी अध्यादेश ल्याएको आरोप पनि लगाएका छन् ।
निर्वाचन आयोग पुगेका जनता समाजवादीका नेता केशव झाले नयाँ शक्ति गठनका लागि एकता भएको भन्दै समाजवादी पार्टीले सरकार छाड्न ढिलाई गरेका कारण र लक डाउनका कारण एकतामा पनि ढिलाई भएको बताए । नेकपा सरकारले लोकतन्त्र र पार्टी पद्धतीलाई कमजोर पार्ने षडयन्त्र गरेको भन्दै उनले वर्तमान सरकारले प्रतिपक्षीलाई बेवास्ता गरेर मनोमानी ढंगले अध्यादेश ल्याएका कारण आफुहरु एकजुट भएको बताए । प्रधानमन्त्रीले साना दलहरु बिच फुट ल्याउने षडयन्त्र गरेकाले आफुहरुले तत्काल एकता गर्ने निर्णय गरेको उनको भनाइ थियो ।
एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा अध्यक्षमण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित भएनन् ।
उनीहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको नेता केशव झाले बताए । पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved