काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भयो। छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा सुझाव दिएका छन् । पहिलो– स्वास्थ्यसम्बन्धी छुट्टै एकीकृत ऐन ल्याउने, दोस्रो– कोरोना भाइरस रोकथाममा केन्द्रित भएर तत्काल नयाँ ऐन ल्याउने र, तेस्रो– तत्काल संक्रामक रोग ऐन संशोधन गर्ने ।
सांसद रामनारायण बिडारीले तत्काल संक्रामक रोग ऐन संशोधन गर्नु उचित हुने तर्क गरे । उनले सरकारलाई यससम्बन्धी अध्यादेश ल्याउन सुझाव दिए । ‘मैले सरकारलाई कोरोना भाइरससम्बन्धी अध्यादेश ल्याउन भनेको थिएँ, अर्कै ल्यायो । कोरोनासम्बन्धी अध्यादेश ल्याएको भए विरोध पनि हुँदैनथ्यो’ उनले भने ।
कतिपय देशले मास्क नलगाउँदा, जथाभावी हाच्छ्यु गर्दासमेत कारबाही हुने गरी कानून ल्याएको भन्दै उनले नेपालमा अध्यादेशबाटै भएपनि यस्तो व्यवस्था गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले पनि अध्यादेश जारी गर्नु उपयुक्त हुने बताइन् । ‘कोरोना महामारीविरुद्ध लड्न संक्रामक रोग ऐन २०२० अपुग छ । त्यसकारण सरकारले यससम्बन्धी अध्यादेश ल्याउनु वेश हुन्छ’ उनले भनिन् ।
महामारीको समयमा धेरै अनियमितता देखिएको भन्दै सांसदहरुले त्यसलाई रोक्ने गरी कानूनको व्यवस्था गर्नुपर्ने बताए । सांसदहरुले स्वास्थ्य सामग्री खरिद र स्थानीय तहहरुले वितरण गरेको राहतमा अनियमितता भइरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved