विराट राजाको दरबार क्षेत्रको सम्बर्द्धन कसले गर्ने ?

  • मंसिर ४, २०७६
  • कालापानी मिडिया
alt

विराटनगर । विराट राजाको दरबार क्षेत्रको सम्बर्द्धन कसले गर्ने भन्ने विषयमा स्थानीय र प्रदेश सरकारबीच छिनाझपडी ९तानातान० सुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँ धार्मिक पर्यटकहरुबाट वार्षिक ठूलो आम्दानी लिन सकिन्छ । तर, विराट दरबार क्षेत्रमा आपसी समन्वयबिनै प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले दरबार निर्माणदेखि विकासको योजनामा आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् ।

दुबै सरकारले आफ्नै ढंगले यो क्षेत्रको विकास गर्ने भनेर घोषणा नै गरेका छन् ।
विराटनगर वडा नम्बर १८ मा दरबार क्षेत्र अवस्थित छ । विराट राजाको दरबार भएको क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थहरुमा समेत यो क्षेत्रबारे वर्णन छ । कौरवहरु वनबासपछि एकवर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आइ बसेका थिए । उबेलाको तीस चालिस कोठाको दरबार र मन्दिर जमनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्ण रुपमा उत्खनन् भने भएको छैन ।

विराटनगर महानगरपालिकाले विस्तृत विकास परियोजनाअन्तर्गत थ्रीडी भिजुअलसमेत निर्माण गरिसकेको छ । महानगरका प्रमुख भीम पराजुली भन्छन्,‘‘हामी पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर यो क्षेत्रको विकास गर्ने योजनामा छौं ।’’ पराजुलीले दरबार क्षेत्रको थ्रीडी भिजुअलसहितको परियोजना महानगरले तयार गरेको जानकारी दिएका छन् । उनका अनुसार बुधनगरमा अवस्थित भेडियारीमा निर्माण गरिने विराट राजाको दरबार ऐतिहासिकता र आधुनिकताको संगम हुनेछ ।

यसमा उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको संग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानको लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण हुनेछ । महानगरले यसको थ्रीडीस्वरुप तयार गरी थप अध्ययन गरिरहेको छ । यो विराट राजाको दरबार रहेको विराटनगर १८ मै निर्माण हुनेछ ।

भेडियारीमा महाभारतकालमै दरबार बनेको मानिन्छ । २०२७ मा नेपाल सरकारले उत्खनन् गर्दा ४० वटा पन्चमार्क मुद्रा फेला परेका थिए । धेरै वस्तु राष्ट्रिय संग्राहलयमा राखिएको छ ।

पुरातत्व विभागले उत्खनन्बाट फेला परेका साधनका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानेको छ । विगतमा अस्तित्वमा रहेका पोखरीहरु पुरिएर लुप्त भएका छन् । कतिपयले पुरेर खेतीपाती गर्ने क्रम पनि सुरु भएको छ । भेडियारीभरि पुरातात्विक वस्तु फेला पर्ने गरेका छन् । संरक्षण गर्न जरुरी देखिएको स्थानीय बताउँछन् । यता, प्रदेश एक सरकारको सामाजिक विकास मन्त्रालयले भने यो क्षेत्रलाई प्रदेशकै गौरव बनाउने घोषणा गरेको छ । महानगरले पनि यो क्षेत्रलाई विकास गर्ने योजना बनाएको छ । दरबारसँगै अन्यक्षेत्रको गुरुयोजना सरकारले बनाउने र क्रमशः विकास गर्दै लैजाने सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन् ।

मन्त्रालयले अघिल्लो आर्थिक वर्ष बजेट विनियोजन गरी यो क्षेत्रको वृत्तचित्रसमेत तयार गरेको छ । मन्त्री घिमिरेले सरकारको योजना वृत्तचित्रमा विस्तृत रुपमा व्याख्यासमेत गरेका छन ।

‘‘दरबारले जुन किसिमको संरक्षण पाउनु पर्दथ्यो र विकास हुनुपर्दथ्यो त्यो उचाइबाट काम हुन सकेको थिएन । अब ढिलाइ गर्नु हुँदैन । प्रदेश सरकारको ध्यान विराट राजाको दरबारमा खोज अनुसन्धान, संरक्षण सम्बर्द्धन र विकासमा सरकारको ध्यान अघि बढेको छ । गुरु योजनाको लागि सरकारले काम थाल्ने छ,’’ मन्त्री घिमिरेले भने,‘‘यो दायित्व सामाजिक विकास मन्त्रालयको हो । अब विराट राजाको अस्तित्वलाई स्थापित गर्ने हो । लुम्बिनी र जनकपुरको पहिचानजस्तै विराट राजाको नामबाट यो क्षेत्रको पहिचान हुन सक्छ । यसलाई उजागर गर्नेतर्फ ध्यान केन्द्रित भएको छ । भेडियारीमा मात्र सीमित नभएर योसँगै जोडिएका किचक पोखर, गुह्यपोखरी, रानी पोखरी र गोग्राहासमेतको संरक्षण गरिने छ ।’’

मन्त्री घिमिरेले संरक्षण र सम्बर्द्धनको काम भेडियारीमात्र नभएर विराट राजाको नाम जोडिएका क्षेत्रकोे गुरुयोजनासहित गर्ने सरकारको तयारी रहेको स्पष्ट गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी भने यो क्षेत्रको संरक्षणको काममा महानगरले काम अघि बढाएको बताउँछन् । अधिकारीले भने,‘‘विराट दरबार क्षेत्रको उत्खनन्, संरक्षण र पुर्ननिर्माण हुन सके धार्मिक पर्यटकबाट मात्र धेरै ठूलो आम्दानी लिन सकिन्छ । अरु पर्यटकलाई पनि विराटनगरमा तान्न सकिन्छ ।’’

खुम्चियो दरबार क्षेत्र
विराट राजा दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादव हुन् । उनले पनि यो क्षेत्रको संरक्षणमा आफूहरुले योगदान दिएको बताउने गरेका छन् । उत्खनन् गरेबाहेकका कतिपय महत्वपूर्ण वस्तुहरु यादवले आफ्नै घरमा राखेका छन् । विभिन्न समयमा आफूले दरबार क्षेत्रबाट ती वस्तु फेला पारेको उनले बताउने गरेपनि सरकारले ती वस्तुमा आफ्नो दाबी प्रस्तुत गर्न सकेको छैन ।

यादव भन्छन्,‘‘जुन रुपमा यो क्षेत्रको संरक्षण हुनुपर्दथ्यो हुन सकेको छैन । बरु हामीले धेरै वस्तु संरक्षण गरेर राखेका छौं ।’’ यादवले आफू नेतृत्वको समितिले यो ठाउँको संरक्षणमा धेरै काम गरेको दाबी गर्छन । वि।सं २०७४–०७५ मा संरक्षणका लागि ४० लाख बजेट विराटनगर महानगरले छुट्याएको थियो । स्थानीयका अनुसार विगतमा दरबार १७ देखि २० बिघा क्षेत्रमा फैलिएको थियो ।
तर, अहिले भने दरबार क्षेत्र साँघुरिदै गएको छ । कतिपयले दरबार क्षेत्रकै जग्गा नम्बरी बनाइसकेका छन् । वडा नम्बर १८ का वडासदस्य राजदेव यादव भन्छन्,‘‘दरबार क्षेत्र साँघुरिएर गएको छ । पहिले दरबार रहेको मानिएको क्षेत्रमा अहिले व्यक्तिको धानखेत रहेको देखिन्छ ।’’ उनले दरबार क्षेत्रको संरक्षण र प्रवर्द्धन कसले गर्ने यसलाई विकास गर्ने भन्नेमा द्विविधा रहेको सुनाए । दरबार क्षेत्र अहिले पाँचकठ्ठामा घेराबेरा गरेर राखिएको छ ।

फेला परेका वस्तु व्यक्तिको कब्जामा
यो क्षेत्रमा महाभारतकालीन विश्वास गरिएका वस्तु फेला परेका थिए । तर, ती वस्तु कुनै सरकारको नियन्त्रणमा नभएर व्यक्तिको कब्जामा छ । विराट राजा दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादव हुन । उनले पनि यो क्षेत्रको संरक्षणमा आफूहरुले योगदान दिएको बताउने गरेका छन् । उनले घरमा दरबार क्षेत्रमा फेला परेका ऐतिहासिक वस्तु नापतोल गर्ने साधन, बुद्धका मूर्ति, बच्चालाई तेल मालिस गर्ने अल्सी, प्राचीन सिलौटा, राधाकृष्णमा मूर्ति, पत्थर, ग्रेनाइट मुगा, स्त्रीको लघुमूर्ति, नृत्यअवस्थाको मूर्ति, ओलन, पासा, झंगाटी, शिवमूर्ति, भद्रिकादेवीको मुर्ती, ठेकुवा छाप साँचा, माटो तथा तामाको मुद्रा, आगो निकाल्ने प्राचीन यन्त्र, प्राचीनकालका इँटा, निलम पत्थर, निलो पत्थर, स्त्रीको मूर्ति, भगवान, माटोको कुप्पी, तम्बाकु खाने चिलम, शस्त्रमा धार लगाउने यन्त्र आफ्नै घरमा राखेका छन् । यादव भन्छन्,‘‘सबै वस्तु सुरक्षित राखिएका छन् । यसलाई महाभारतकालीन नै मानिएको छ ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved