काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ स्थानीय बासिन्दासँगै पाँच दिन पैदल हिँडेर सिमकोट एअरपोर्ट आइपुग्नु भएको छ ।
गाउँमा भोकमरी हुने भएपछि सरकारसँग हारगुहार गर्न उहाँ स्थानीय बासिन्दाको साथमा हिमाली भेगको कठिन बाटो पार गर्दै सदरमुकाम आइपुग्नुभएको हो । त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाडौं आउन लागेको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।
हुम्लाका सांसद छक्कबहादुर लामाको साथमा उहाँ काठमाडौं आउन लाग्नुभएको हो । टिकट पाए र समयमा नै उडान भए आजै बेलुकी काठमाडौं आइपुग्ने वडाध्यक्ष तामाङले बताउनु भयो । ‘आज बेलुकी काठमाडौं पुग्न सके भोलि गाउँका समस्यालाई सरकारसमक्ष राख्दै समस्या समाधानका लागि आग्रह गर्नेछौँ ’ उहाँले भन्नुभयो ।
गाउँमा भोकमरीको समस्या हुने सङ्केत देखिएपछि तीन गाउँका स्थानीयको बैठक बसेर वडाध्यक्ष तामाङको नेतृत्वमा ३० जनाको टोली पाँच दिन हिँडेर हिजो हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको हो ।
तामाङले टेलिफोनमा भन्नुभयो, ‘यहाँ सीडीओलाई भेटेर समस्या सुनायौँ तर, उहाँ उल्टै हामीलाई नै जिल्लाका दुःख सुनाउनुहुन्छ । गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामको डिपोमा पनि चामल छैन, कहाँबाट पठाउँ भन्नुभयो । अब काठमाडौंमा पुगेर सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पीडा सुनाउँछौँ, राज्यले आफ्ना नागरिकलाई भोकै राखेर मार्छ कि समस्या समाधान गर्छ भनेर सोध्छौँ । यसपछि हामी गाउँ फर्कन्छौँ र हुम्लाको सदरमुकाम सिमकोटमा छोडेर आएका हाम्रा टोलीलाई सँगै लगेर गाउँ पुग्छौँ ।’
उवाको सातु सकिएपछि भोकमरीको चिन्ता
चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुईरतीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा छन्।
हिल्सा नाका पारि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन समस्या भएपछि गाउँमा भोकमरी हुने अवस्था आएको गाउँपालिकाले जनाएको छ । भोकमरीको चपेटामा हल्जीका ९६, जाङका ३० र तिल गाउँका २५ घरधुरी पर्छन् ।
यहाँका बासिन्दाले कोरोना महामारी अघिसम्म चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै मैदा ल्याएर छाक टारेका थिए । हुम्लाका लागि याल्बाङको बिक्री केन्द्रमा पठाउने चामल पनि सरकारले चिनियाँ बाटो हुँदै पठाउने गरेको थियो। रसुवाको केरुङबाट ताक्लाकोट हुँदै हिल्सा नाकाबाट चामल भित्रिन्थ्यो । तर, कोरोना महामारीपछि बन्द गरेको नाका चीनले अहिलेसम्म खोलेकै छैन ।
झण्डै एक महिनाअघि हिल्सा र नाम्खा गाउँपालिकाका लागि चीनले चार हजार छ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । यसमध्ये नगरपालिकाले एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गरेको थियो । तर यो चामल हिमपातका कारण नाका पारि नै रोकिएको छ । यस्तै गएको वर्ष भने खाद्य बिक्री केन्द्र याल्बाङबाट तीन सय क्विन्टल चामल गाउँमा आएको थियो । त्यसयता भने अहिलेसम्म चामल आएकै छैन ।
अब गाउँमा भोकमरी हुने भयो भन्ने गाउँलेलाई चिन्ता छ । गाउँमा भोकमरी नहोस् भनेर वडाध्यक्षसहितको टोलीले राज्यसँग हारगुहार गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved