साउदीमा नेपाली युवा यसरी मनाउँदै छन् दसैं

  • असोज १९, २०७६
  • कालापानी मिडिया
alt

साउदी अरबको राजधानी रियादस्थित डाइट सेन्टरको क्याम्पमा उमारिएको जमरा लहलह भएको छ।

यो क्याम्पमा अर्घाखाँचीका भूपेन्द्र थापा, तनहुँका सोमलाल पौडेल, सुकुबहादुर थापामगर र गुल्मीका मिलन थापा मिलेर जमरा उमारेका हुन्।

डाइट सेन्टरमा ६० नेपाली काम गरिरहेका छन्। विजयादशमीको दिन डिउटी सकेर क्याम्पमा आएपछि उनीहरू एकै ठाउँमा भेला भएर निधारमा टीका र कानमा जमरा सिउरिने योजना बनाएका छन्।

‘हरेक दिन विधि पुर्‍याएर नै जमरा कोठामा पूजा भइरहेको छ,’ भूपेन्द्रले भने, ‘हामी बस्ने कोठाको कुनामा जमरा राखिएको छ । यो जमरा गाउँघरमै जस्तै देखिएको छ।’ यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

जमरा सप्रेको देख्दा क्याम्पका साथीहरू उत्साहित छन्। जमरासँग सेल्फी हान्दै आ–आफ्ना घरमा फोटो पठाउनेहरूसमेत छन्। ‘क्याम्पमा जमरा लहलह पर्दा मन पुलकित हुँदो रहेछ। दसैं साउदीमै भित्रिएजस्तो लागिरहेको छ,’ उनले भने।

भूपेन्द्र सन् २००३ देखि साउदीमा काम गर्दै आइरहेका छन्। पुरानो कामदार भएकाले कम्पनीले उनको कुरा सुन्ने गर्छ।

‘हाम्रो जीवन नै विदेशमै बित्ने भयो। विदेशमा बस्नेलाई सबभन्दा बढी नरमाइलो हुने क्षण नै चाडपर्वमा हो। घरमा जान नपाए पनि रोएर बस्ने कुरा हुँदैन। सबै साथीहरूको पीडा एउटै हुन्छ। आफ्नै परिवार र आफन्त भेट नभए पनि साथीहरू त छौं नि,’ उनले भने, ‘विजयादशमीको दिन कम्पनीभन्दा बाहिर रहेका नजिकका साथीहरूलाई पनि आमन्त्रण गरेका छौं । कम्पनीमा रहेका नेपालीमध्ये सबभन्दा जेठो व्यक्तिबाट टीका ग्रहण गर्नेछौं।’

यसपटक विजयादशमी मंगलबार छ । खाडीमा साप्ताहिक बिदा शुक्रबार हुन्छ । ‘प्रवासीको दसैं जहिले छुट्टी मिल्छ त्यहीले मनाउने हो । हामीले त यसपालिको दसैं शुक्रबार नै मनाइसक्यौं’, लिखु गाउँपालिका–२, नुवाकोटका नवराज लामिछानेले भने, ‘खसीबजारमा गएर खसी ल्यायौं । हरेक क्याम्पमा खसी ढालिएको छ ।’ रियादको अजेजियामा खसी किन्ने नेपालीको भीड थियो ।

‘खसी बेच्नेहरूलाई नेपालीको दसैं आयो भन्ने थाहा छ । दसैंमा खसीको मूल्य नै बढेको छ । ३/४ सय रियालमा पाउने खसीको भाऊ बढेर ६ सयदेखि ९ सय रियाल पुगेको छ,’ उनले भने । साउदीमा छालासहितको खसीको मासु बजारमा किन्न पाइँदैन । छालासहितको मासु बिक्री गर्न रोक छ । धेरैजसो नेपालीले छालासहितको मासु मन पराउने हुँदा आफैं खसी मार हान्छन् । ‘कोठामा लगेर पकाएर खाने हो । कम्पनी आफैंले भने मेसमा मिसाउन दिँदैन,’ उनले भने ।

मुस्लिम राष्ट्र साउदी अरबमा नेपालीले भित्र टीका लगाएपछि सडकमा निस्कने गरेका छैनन् । ‘टीका लगाइसकेपछि क्याम्पभित्रै बस्ने हो । रातो टीका भएको निदार बोकेर बाहिर निस्कने आँट कसैको हुँदैन,’ उनले भने, ‘कतारजस्तो खुल्ला छैन ।’ कतारमा बेग्लै रौनक छ । साउदीमा विजयादशमीको दिन कामदारलाई बिदा छैन । कतारमा धेरैजसो कम्पनीले नेपाली कामदारलाई बिदा दिने गर्छन् ।

बहुराष्ट्रिय कम्पनी युनाइटेड प्रिकास्ट कम्पनीले विजयादशमीको दिन बिदा दिएको छ । यो कम्पनीमा ३ सय नेपाली काम गर्छन् । ‘यस्तो बेला परिवार सँगै बस्न नपाए पनि भिडियो च्याटबाट टीकामा सहभागी हुन बिदा दिइएको छ । कमसेकम परिवारले पनि नजिकको महसुस गर्छन्,’ कम्पनीका म्यानेजर सन्जिव रानाभाटले भने ।

दसैंका लागि कम्पनीका तर्फबाट कामदारलाई खसीसमेत उपहार दिने गरिएको छ । इमेज कम्पनीले ६ सय कामदारलाई खसी उपलब्ध गराएको जानकारी म्यानेजर राजन श्रेष्ठले दिए । ‘यस पटक नेपालबाट आमा आउनुभएको छ । उहाँलाई नै क्याम्पमा लिएर जाने हो । सबैलाई आमाको हातबाट टीका लगाइदिने योजनामा छौं,’ उनले भने । टीका जमरा लगाइसकेपछि कामदारहरू खुल्ला रूपमा बाहिर निस्कने गर्छन् । ‘विस्तारै गर्मी कम भइरहेको छ । । बाहिर हिँडडुल गर्न केही सहज छ,’ खोटाङका केदार बानियाँले भने ।

खाडी पुगेका साथीहरू एकआपसमा संगठित छन् । उनीहरूका संघसंस्था दसैं मनाउन सक्रिय छन् । ‘यहाँ पनि भलिबल, फुटबल प्रतियोगिता हुन्छ । जित्नेलाई खसी दिइन्छ । हाम्रो गाउँमै पुगेको जस्तो हुन्छ’, यूएईमा रहेका सिन्धुपाल्चोकका रमेश लुइँटेलले भने, ‘तैपनि प्रवासीका दसैं सिमलको भुवा जस्तै लाग्छ । जे जस्तो भए पनि हामी बाध्यतामा पनि रमाउन जानेका छौं।’

बिदामा घर फिर्न नपाउनेहरूले परिवार नै आफ्नो कार्यस्थल बोलाउन थालेका छन् । कतारले ट्राभल एजेन्सीको जिम्मेवारीमा भिजिट भिसा दिन थालेपछि परिवारलाई बोलाउन सजिलो भएको हो । ‘दसैंमा कतारबाट नेपाल जाने टिकट छैन । नेपालबाट आउने टिकट सस्तोमा पाइएको छ । मैले यता नै परिवार र छोरीलाई बोलाएँ,’ झापाका उमेश श्रेष्ठले भने, ‘परिवार यतै आएपछि झन रमाइलो हुने भयो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved