काठमाडाैं । सत्तारुढ गठबन्धनको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक आज (मङ्गलबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच भेटघाट एवम् छलफल भएको भोलिपल्ट सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हो ।
बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहसहित तीनै तहको निर्वाचनका बारेमा छलफल हुनेछ । अघिल्लो दिनको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न देउवा र दाहाल सहमत भएका थिए । त्यसलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएरै गठबन्धन दलहरुबीच छलफल गरेर निर्णय लिइने निष्कर्षमा नेताहरु पुगेका हुन् ।
आगामी वैशाखमा चुनाव गर्नुपर्ने भएपछि गठबन्धन छलफलमा जुटेको छ । गठबन्धनभित्र वैशाखमा चुनाव गर्नेबारे एकमत नरहेको बताइन्छ । त्यही भएकाले बैठक बोलाएर निर्णय लिने तयारी भएको हो ।
बैठक उच्च स्तरीय राजनैतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सभापतित्वमा बस्ने बताइएको छ । एक नेताका अनुसार बैठकमा स्थानीयसहित तीनै तहलका निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति एवम् संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले ढिलाइ गरिरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved