बंगलादेश पूर्वी पाकिस्तान मै पर्थ्यो। भारतमा अझै पनि हकी निकै लोकप्रिय खेल मानिन्थ्यो। भारतीय राष्ट्रिय कांग्रेस विभाजन भइसकेको थिएन। राजधानी एक्सप्रेस सुरु भएको एक वर्ष पनि भएको थिएन। अनि मानिसले चन्द्रमामा पाइला राखेको खबरले सबैलाई आश्चर्य चकित पारेको अवस्था थियो।
त्यस समय भारतका प्रसिद्ध निर्देशक ख्वाजा अहमद अब्बास आफ्नो नयाँ फिल्म 'सात हिन्दुस्तानी'का लागि अभिनेताको खोजीमा थिए। ठीक त्यही बेला उनलाई कसैले अग्लो कद भएको पातलो युवकको तस्विर देखायो। उनले केही बेर पनि नसोची भने- मलाई यी युवासँग भेटाउनु।
तस्विर देखेपछिको तेस्रो दिन। साँझ ६ बजेको थियो। उनको कोठामा निकै अग्लो केटो देखियो। केटोले चुडिदार सुरुवाल र नेहरु ज्याकेट लगाएको थियो।
आम युवाभन्दा निकै अग्लो देखिने त्यो केटोलाई बस्ने इशारा दिँदै अब्बासले सोधे- 'तपाईंको नाम?'
केटो बोल्यो- अमिताभ।
प्रश्न जवाफको श्रृङ्खला जारी रह्यो।
'पढाई?'
दिल्ली विश्व विद्यालयबाट बीए।
'यसअघि कुनै फिल्ममा काम गर्नु भएको थियो त?'
अँह छैन। अहिलेसम्म कुनै पनि निर्माता, निर्देशकले मलाई उनीहरुको फिल्ममा लिएनन्।
त्यसपछि निर्देशक अब्बासले उनलाई फिल्ममा नलिनुको कारण सोधे।
केटोले भन्यो- म हिरोइनहरुको भन्दा धेरै अग्लो छु। जोडी सुहाउँदैन।
त्यसपछि अब्बासले केही नसोची भने- 'मलाई तपाईंको उचाईसँग समस्या छैन। किनकि हाम्रो फिल्ममा कोही हिरोइन नै छैन। यदि हुन्थ्यो भने पनि म तपाईंलाई मेरो फिल्ममा लिन्थेँ।'
त्यसपछि उनको अघिल्तिर बसिरहेको केटोले आश्चर्यसहित सोध्यो-
तपाईं मलाई आफ्नो फिल्ममा लिँदै हुनुन्छ? त्यो पनि कुनै अडिसनबिना? के यो सत्य हो?
त्यसपछि अब्बासले फिल्मको कथा सुनाएँ। अमिताभलाई उनको भूमिकाबारे प्रष्ट पारे। त्यसबीचमा एक सर्त थियो। यदि अमिताभलाई आफ्नो भूमिका मन पर्यो भने पारिश्रमिकको कुरा हुने र मन परेन भने दुईबीचको कुराकानी त्यहीँ टुङ्गिने।
अमिताभलाई आफ्नो भूमिका मनपर्यो। पारिश्रमिक तोकियो- पाँच हजार रुपैयाँ।
तोकिएको पारिश्रमिक फिल्म निर्माण अघिदेखि प्रदर्शनसम्मको थियो। अमिताभ त त्योभन्दा राम्रो रकम कलकत्ताको एक निजी कार्यालयबाट कमाउँथे। मासिक सोह्र सय रुपैयाँ तलब। तर, उनले त फिल्म खेल्ने हुटहुटीले डोहोर्याएपछि जागिर छाडेर हिँडेका थिए।
उनले आफूले पाइरहेको तलब र छाडेर आएको जागिरको बारेमा अब्बासलाई बताए। अब्बासले आश्चर्य भावमा सोधे- 'मतलव तिमीले फिल्म पाउने झिनो आशाका खातिर त्यति राम्रो तलबी काम छाड्यौ? मैले तिमीलाई फिल्ममा अवसर दिइँन भने?'
'जिन्दगीमा कहिले काही यस्तो जोखिम त मोल्नै पर्छ।'
अमिताभको यही जवाफले उनलाई हिन्दी फिल्म इन्डस्ट्रीमा इन्ट्री गरायो।
अब्बासले आफ्नो सचिवलाई बोलाएर त्यो अग्लो केटोसँग सम्झौतापत्र बनाउँदै गर्दा उसको नाम पुन: एकपटक सोधे।
केटो बोल्यो- अमिताभ बच्चन।
केही सेकेन्डको मौनतापछि थप्यो- पुत्र डाक्टर हरिवंशराय बच्चन।
त्यसपछि अवस्था सामान्य रहेन।
अब्बास र अमिताभका बुबा त साथी पो रहेछन्। सोभियत ल्यान्ड नेहरु अवार्ड कमिटीमा उनीहरु सँगै थिए। अब्बासले हरिवंशराय बच्चनको स्वीकारोक्तीपछि मात्र फिल्ममा अमिताभलाई लिने सुनाए।
टेलिग्राममार्फत् अब्बासले सोधे- के तपाईं आफ्नो छोरालाई अभिनेता बनाउन तयार हुनुन्छ?
दुई दिनपछि जवाफ आयो- मलाई केही आपत्ती छैन।
त्यसपछि इन्ट्री भयो फिल्मी दुनियाँमा अमिताभ बच्चनको।
उनको पहिलो फिल्म सात हिन्दुस्तानी सफल रहेन। तर, अमिताभलाई एकपछि अर्को फिल्म हात परिरह्यो। ऋषिकेश मुखर्जीको फिल्म 'आनन्द' उनको दोस्रो फिल्म बन्यो। फिल्ममा उनी सहायक भूमिकामा थिए। फिल्ममा उनले बोलेको एउटा संवाद- 'आनन्द मरेको होइन। आनन्दहरु मर्दैनन्।' यही एउटा संवादका कारण उनको चर्चा चुलियो।
सन् १९७२ मा 'आनन्द'कै लागि अमिताभले फिल्मफेयरको सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार समेत जितायो।
व्यवसायिक सफलता भने सजिलै हात लागेन। आनन्दपछि पनि १६ वटा फिल्मको बक्स अफिस कलेक्सन सन्तोषजनक रहेन।
रोमान्टिक जनरका फिल्महरुको समय थियो त्यो। त्यस समय फरक धारको 'जंजीर' बन्ने भयो। फिल्म निर्माण युनिटको रोजाइमा थिए अभिनेता देवानंद, राजकुमार, धर्मेन्द्र। तर, फिल्म रोमान्टिक जनरको नभएकै कारण उनीहरुले फिल्म अस्वीकार गरे।
त्यसपछि अमिताभ बच्चनले त्यो फिल्म गर्ने भए। जंजिर सार्वजनिक भयो। र, रातारात सुपर हिट पनि।
अमिताभ बच्चनको जीवनी 'अमिताभ बच्चन अ केलेडोस्कोप'का लेखका प्रदीप चन्द्रा भन्छन्- 'व्यवसायिक असफलताबीच पनि १६ वटा फिल्म पाइरहनु भनेको आफ्नो स्थान बनाइराख्नु हो। यदि त्यसो हुन्थेन भने दुई तीनवटा फिल्मपछि उनी इन्डस्ट्रीबाट हराइसक्थे। तर उनले जंजिरसम्म लामो संघर्ष गरे र त्यो फिल्म सार्वजनिक हुनु उनको करियरको टर्निङ पोइन्ट बन्यो।'
अमिताभले फिल्महरुमा आफ्नो ठाउँ बनाउन संघर्ष गरिराख्दा उनको निकै निकट रहे कमेडियन महमुद। महमुदको जीवनीमा एउटा घटनाक्रम उल्लेख गरिएको छ- बम्बई टू गोवा प्रदर्शनमा आउनुअघि अमिताभले एक स्मार्ट व्यक्तिलाई आफूसँगै मुम्बई ल्याए। त्यस समय महमुद नशामा थिए। उनका भाइ अनवरले दाइसँग ती नयाँ व्यक्तिको परिचय गराउने कोसिस त गरे तर नशामा भएकाले महमुदले केही पनि बुझेनन्। बरु गोजीबाट पाँच हजार रुपैयाँ निकालेर ती व्यक्तिको हातमा राखिदिए। उनले भनेका थिए- यो मान्छे अमिताभभन्दा सफल स्टार बन्ने छाँट देखेर मैले यो रकम मेरो नयाँ फिल्मको लागि एड्भान्स दिएको हुँ।
त्यसपछि भने उनीहरुले नयाँ व्यक्तिसँग पुन: परिचय गराउनु पर्यो। अनवरले भने- उहाँ इन्दिरा गान्धीका छोरा राजिव गान्धी हो।
महमुदले राजीव गान्धीलाई दिएको रकम फिर्ता लिए।
तर, महमुदको त्यो भविष्यवाणी सफल ठहरियो। राजिव स्टार बने तर अभिनयको होइन राजनीतिको।
अमिताभले एक अन्तर्वातामा महमुदलाई सम्झदै भनेका छन्, 'त्यस समय सबैतिर म अस्वीकृत थिएँ। त्यस समय उनी एकजना थिए जसले मेरा लागि निकै ठूला सपनाहरु देखे।'
सन् १९७३ मा अमिताभको विवाह भयो, जया भादुडीसँग। मुम्बईमा भएको विवाहमा उनलाई फिल्म इन्डस्ट्रीमा ल्याउने ख्वाजा अहमद अब्बासदेखि साहित्यकार भगवती चरण वर्मा, नरेन्द्र शर्मा, इन्दिरा गाँधीका कान्छा छोरा सञ्जय गान्धी लगायत उपस्थित थिए।
विवाहको ठीक एक दशकपछि भने अमिताभ बच्चनले राजनीतिमा प्रवेश गरे। त्यो पनि राजिव गान्धीको अनुरोधमा। त्यस समय इन्दिरा गान्धीको हत्या भएको थियो। अमिताभले इलाहाबादबाट लोकसभा चुनाव लड्ने निर्णय गरे। उनको प्रतिद्वन्द्वी थिए उत्तर प्रदेशका मुख्य मन्त्री रहेका हेमवतीनंदन बहुगुणा।
उक्त चुनावको अखर कभर गरेकी पत्रका कुमकुम चड्ढा भन्छिन्- 'चुनावमा अमिताभले आफ्नो भूमिका फेरेनन्। उनी स्टारकै रुपमा प्रस्तुत भए र सर्किट हाउसको बन्द कोठाबाट चुनाव लडे। प्रचार प्रसारको जिम्मेवारी उनका भाइ अजिताभले सम्हालेका थिए।'
सर्किट हाउसको गेट बन्द रहन्थ्यो। अमिताभ बस्ने कोठाको ढोका पनि। अजिताभ हरेक बिहान सडक ओगटेर बसेका पत्रकार र मानिसहरु लखेट्थे। अमिताभ बच्चन भने हरेक ठाउँमा रटेको एकै किसिमका संवादहरु बोल्थे।
कुमकुम थप्छिन्, 'उनलाई चुनावबारे खासै केही पनि थाहा थिएन। त्यसैले उनको हार पनि निश्चित थियो।'
तर, जब उनकी श्रीमती जया प्रचार प्रसारमा खटिइन् चुनावी हावाले दिशा मोड्यो। चुनावी नतिजा अमिताभकै पक्षमा रह्यो। तर, अमिताभ र राजीवको मित्रता धेरै समय टिकेन। सन् १९८७ मा अमिताभले आफ्नो लोकसभा सीटबाट राजीनामा दिने निर्णय गरे।
कारण यकिन छैन। तर, बोफोर्स घोटला (हात हतियार खरिद् बिक्रीमा कमिसनको आरोपमा) उनको नाम जोडिएपछि राजिव गान्धी स्वयंले उनलाई राजीनामा दिन लगाएको खबर फैलिएको थियो।
अमिताभ सम्बन्ध टिकाउने मामलामा कमजोर छन् भन्ने हल्ला एकपछि अर्को गर्दै फैलियो। उनी आफ्नै भाइ अजिताभसँग एकसमय निकै नजिक थिए। तर, कालान्तरमा उनीहरु बीच बोलचाल नै बन्द भयो। सोनिया गान्धीसँग पनि उनले राखी बाँधेर दाजु बहिनीको सम्बन्ध गाँसेका थिए। तर उनीसँग पनि अमिताभको धेरै समय बोलचाल भएन। राजनीति र सम्बन्धमा उनले आफैलाई साबित गर्न नसके पनि अभिनय क्षेत्रमा भने अब्बल रहे।
१९७०/८० को दशकमा चर्चाको उत्कर्षमा थिए अमिताभ। १९८० कम वीर सांघवीले इन्डिया टुडेमा लेखेका थिए- अमिताभ बच्चन एक स्टार होइन इन्डस्ट्री हुन्। १९८३ भन्दा अघि उनीसँग समय मिल्न मुश्किल थियो। निर्माताहरु उनको सानो भूमिकाका लागि आतुर रहन्थे।
१९७९ मा फिल्मफेयरले जनाए अनुसार मुम्बईका ९६ सैलुनमा अमिताभका फोटो अनिवार्य थिए।
उमेरले ७० वर्ष पार गरे पनि उनी हिन्दी सिनेमाका स्तम्भ मानिन्छन्। हालसम्म चारवटा राष्ट्रिय पुरस्कार पाइसकेका उनले तीनवटा त ६० वर्ष कटिसकेपछि पाएका हुन्।
(यो सामग्री बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो)
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved