काठमाडौं । वर्ष २०२४ अन्तर्राष्ट्रियरूपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो।
ठूला–ठूला विमान दुर्घटना भए। ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो। वर्ष समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय ७९ जनाले ज्यान गुमाए। दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए।
बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए। सियोलबाट करिब दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा यति ठूलो मानवीय क्षति भएको हो। यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा दुई सय १७ जनाले ज्यान गुमाए। विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो।
मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो। नयाँवर्ष २०२५ को शुरुआत हुँदैगर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो। यो वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए। डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई सय ३४ जनाको मृत्यु भएको छ।
लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ। यस्तै गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो। उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो। डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो। उक्त विमानमा आगो लागेको थियो। यसैगरी गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै पाँच जनाको मुत्यु भएको थियो।
उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो। अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो। अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो। अगष्त नौ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो।
सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन। जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो। यस्तै अगष्ट ७ (साउन २३ गते) काठमाडौँको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा पाँचजनाको मृत्यु भएको थियो। सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो। यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो।
बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउछन्। ‘नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ। तर, विश्वव्यापीरूपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ’, उनले भने। सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ। निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ।
हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समग्रमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउछन्। ‘विश्वव्यापीरूपमा ठूला ठूला हवाई दुर्घटना भए। नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए। यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन। दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ। यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ’, उनले भने।
सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताए। समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति बेहोर्न पुगेको उनले उल्लेख गरे। ‘एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहे पनि विश्वव्यापीरूपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो’, पूर्वमहानिर्देशक गौतमले भने, ‘दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउनेभन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ।’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ। अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्कलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या झण्डै पाँच अर्ब पुगेको बताए।
सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताए। ‘नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको सङ्ख्याको हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै सङ्ख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ’, उनले भने।
प्राधिकरणका अनुसार नेपालमा हालसम्म १०८ हवाई दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ। विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निराश बनाएको छ।
यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ। सन् २०२४ मा ठूला विमान दुर्घटनामा ४००भन्दा बढीको मृत्यु भएको बताइएको छ। अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञ बताउँछन्। रासस
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved