राप्रपा नेपालका अध्यक्ष कमल थापा,राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ ।
बिज्ञप्तीमा यस्तो भनिएको छ, आजको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्सर्ना गर्दछौं ।
शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्दछौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य मा. दिपक सिंहलाई संसदीय मर्यादा विपरित प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ ।
संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, मा. दिपक सिंह लगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरुलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु । प्रहरी दमनको क्रममा घाइते भएका सबै मित्रहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
नवराज सुवेदी
संयोजक, संयुक्त जनआन्दोलन समिति
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved