काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक विपत्तिको जोखिम बढेको छ। प
हिरोका कारण बनेका खाडल तथा पहिरोले थुनिएका नदीहरूबाट पानी ओभरफ्लो हुन थालेकाले आसपासका अन्य हिमनदीसमेत भत्किन सक्ने चेतावनी चिनियाँ सञ्चारमाध्यमहरूले दिएका छन्। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै सोमबार पहिरोको खाडलभन्दा करिब २.५ किलोमिटर तल रहेका साना-साना पानीका जलाशयहरू निरन्तर भरिएर ओभरफ्लो भइरहेका छन्। निरन्तरको भारी वर्षाका कारण ती क्षेत्रमा जलस्तर उच्च बिन्दुमा पुगेको छ।
विशेषज्ञहरूका अनुसार घटना स्थल नजिकैका अन्य हिमनदीहरूसमेत भत्किन सक्ने उच्च सम्भावना छ। यस्तो भएमा माथिल्लो क्षेत्रबाट पुनः विनाशकारी बाढी आउने खतरा छ। साथै, नजिकैको अर्को नदीका दुवै किनारमा पहिरोले बहाव रोकेर बनेका अवरोधहरूबाट पनि पानी बाहिरिन थालेको छ। ती अवरोधहरू फुटेमा नयाँ पहिरोले नदी थुनेर ताल बन्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने जोखिम औंल्याइएको छ।
सीमावर्ती क्षेत्रमा खटिएको विशेषज्ञ टोलीले आइतबार ती क्षेत्रहरूलाई ‘उच्च जोखिमयुक्त भू-वैज्ञानिक विपद् क्षेत्र’ को रूपमा पहिचान गरेको थियो। जोखिम उच्च रहेकै कारण समय-संवेदनशील उद्धार अभियानसमेत प्रभावित भएको छ। हाल नेपाल र चीन दुवैतर्फ उद्धार तथा राहत टोलीहरू खटिएका छन्।
तर, निरन्तरको भारी वर्षा, बढ्दो जलस्तर र माथिल्लो हिमाली क्षेत्रको प्रतिकूल अवस्थाले उद्धारमा ठूलो चुनौती थपेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै माथिल्लो क्षेत्रका हिमनदी र पहिरोका अवरोधहरूमाथि कडा निगरानी राखिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved