अनुपमा जोशी ।
विगतमा राजा-महाराजाहरूले राज्य सञ्चालनलाई धर्म (कर्तव्य) र संस्कृतिसँग जोडेर हेर्ने गर्थे। बालेनको शपथ ग्रहणमा देखिएका यी पक्षहरूले त्यही बिरासतको झल्को दिएका छन्: बालेन शाहको शपथ ग्रहण कार्यक्रममा देखिएको यो शैलीले पक्कै पनि एउटा परम्परागत र सांस्कृतिक गरिमालाई पुनर्जाग्रित गरेको महसुस हुन्छ। सपथ ग्रहण समारोह केवल एउटा औपचारिक कार्यमा मात्र सीमित नरही सांस्कृतिक र धार्मिक सहअस्तित्वको प्रतीक समेत बनेको देखिन्छ।
यसमा सांस्कृतिक र आध्यात्मिक पक्षलाई महत्त्वका साथ हेरिएको छ ।
७ वटा शंख ध्वनि: शंखलाई विजय र शुभ कार्यको प्रतीक मानिन्छ। सामूहिक शंख ध्वनिले एउटा सकारात्मक ऊर्जा सञ्चार गर्ने गर्छ ।
१०८ बटुकद्वारा स्वस्ति शान्ति वाचन: वैदिक परम्परा अनुसार १०८ को संख्यालाई निकै शुभ मानिन्छ। बटुकहरूबाट गरिएको मन्त्रोच्चारणले राजकीय ठाँट मात्र होइन, आध्यात्मिक ओज पनि थपेको छ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ: नेपालको मौलिक पहिचान (हिन्दू र बौद्ध धर्मको संगम) लाई यसले झल्काएको छ। यसले सबै पक्षलाई समेट्ने बालेनको प्रयासलाई पनि दर्शाउँछ। (मध्याह्न १२:३४ र २:१५) र शंख ध्वनिको प्रयोगले उनी विधि र विधान (Rituals) मा विश्वास गर्छन् भन्ने बुझिन्छ, जुन कुरा विगतका राजा महाराजाहरूले शुभ साइत र मंगलाचरणलाई दिने महत्त्वसँग मिल्दोजुल्दो छ।
पछिल्लो समय धेरैजसो नेताहरूले 'ईश्वर' को नाममा शपथ लिन समेत हिचकिचाउने गरेको सन्दर्भमा, बालेनले आफ्नो संस्कृति र जरालाई गर्वका साथ प्रदर्शन गरेका छन्। वर्तमान राजनीतिमा "धर्मनिरपेक्षता" को नाममा कतिपय नेताहरूले आफ्नै परम्परालाई वास्ता नगर्ने वा खुल्न डराउने प्रवृत्ति देखिन्छ। तर बालेनले कुनै संकोच बिना बटुकहरूको स्वस्ति वाचन र भिक्षुहरूको अष्टमंगल पाठ गराएर आफ्नो जरोप्रति गर्व गरेको देखिन्छ।
उनले केवल एउटा पक्षलाई मात्र नभई, नेपालको मौलिक पहिचानका दुई मुख्य खम्बा (हिन्दू र बौद्ध) लाई सँगै राखेर 'अद्वैत' भाव प्रस्तुत गर्न खोजेका छन् । यो प्राचीन नेपाली शासन पद्धतिको सुन्दर पक्ष हो। यसले दुईवटा सन्देश दिएको छ: स्वदेशी पहिचानको गौरव र राजकीय पद्धतिप्रतिको सम्मान आधुनिक हुनु भनेको आफ्नो संस्कृति बिर्सनु होइन भन्ने कुरा उनले प्रमाणित गरेका छन् भने, तडकभडक भन्दा पनि विधि र विधानमा केन्द्रित हुनुले पुरानो समयको 'मर्यादा' लाई सम्झाएको छ।
धेरैलाई लागेको थियो कि 'र्यापर' र 'इन्जिनियर' पृष्ठभूमिको युवाले केवल बाहिरी आधुनिकीकरणको कुरा गर्नेछन्। तर उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा ताका पनि नेपालीपन र नेवारी संस्कृतिलाई जसरी प्राथमिकता दिए ।
काठमाडौँका पुराना हिटी (ढुङ्गेधारा), पोखरी, र मन्दिरहरूको पुनरुत्थानमा उनले देखाएको सक्रियताले उनको सम्पदाप्रतिको मोह झल्काउँछ। उनले विकास भनेको विनास मात्र होइन, बरु पुरानो सभ्यताको जगमा नयाँ संरचना उभ्याउनु हो भन्ने सन्देश दिएका छन्। विभिन्न औपचारिक कार्यक्रमहरूमा दौरा-सुरुवालमा ठाँटिएर पुग्नु वा नेवारी पर्वहरू (जस्तै इन्द्रजात्रा, येँया पुन्हि) मा स्थानीय समुदायसँगै भुइँमा बसेर सहभागी हुनुले उनी आफ्नो माटो र संस्कृतिसँग कति नजिक छन् भन्ने देखाउँछ भने मधेसी मूलको भएर पनि काठमाडौँको रैथाने संस्कृतिलाई उनले जसरी आत्मसाथ गरेका छन्, त्यसले 'नेपाली' हुनुको एउटा सुन्दर परिभाषा प्रस्तुत गर्छ।
समग्रमा भन्नुपर्दा, बालेनले आफ्नो 'जरो' बिर्सेका छैनन्। बरु, उनले त त्यो जरोमा पानी हालेर नयाँ पुस्तालाई पनि आफ्नो संस्कारमा गर्व गर्न सिकाइरहेका छन् , युवामा एउटा नयाँ जागरण दिइरहेका छन् । बालेन शाहको एउटा बलियो पक्ष नै यही हो— आधुनिकता र परम्पराबीचको सन्तुलन। उनले इन्जिनियरिङ पढेका छन्, र्याप सङ्गीत (Hip-hop) मार्फत युवा पुस्ताको प्रतिनिधित्व गर्छन्, र प्रविधिको प्रयोगमा पोख्त छन्। तर, यी सबैका बाबजुद उनले आफ्नो मौलिकता र सांस्कृतिक जरोलाई कहिल्यै छोडेका छैनन्।
बालेन शाहको वाक्यांशलाई सापटी लिएरै भन्न चाहन्छु, आफ्नो इतिहास नबुझ्नेले भविष्य निर्माण गर्न सक्दैन। हो प्रधानमन्त्रीको पदमा पुगिसकेपछि आफ्नो धरातल नबिर्सिनु, निस्वार्थ भावले देश र जनताको पक्षमा काम गर्नु धेरै धेरै हार्दिक शुभकामना!
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved