काठमाडौँ, ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको सँघारमा आइपुगेको छ। पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवल शमशेर राणासहित सयौँ केन्द्रीय सदस्य, भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्।
भोलि बिहीबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित 'होटल एलो पगोडा' मा एक पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले औपचारिक रूपमा सामूहिक राजीनामाको घोषणा गर्न लागेका हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र नेतृत्वप्रति असन्तुष्ट रहेका नेता-कार्यकर्ताहरूले विगत केही दिनदेखि राजीनामाका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन गरिरहेका थिए। गत आइतबार महामन्त्री डा. राणाले एक अपिल जारी गर्दै आफू 'बृहत राष्ट्रवादी शक्ति' निर्माणमा लाग्ने स्पष्ट पारेसँगै संस्थापन पक्षसँग रुष्ट बनेका नेता-कार्यकर्ताहरू एकजुट भएका हुन्।
राजीनामा कार्यक्रमका लागि काठमाडौँमा उपलब्ध रहेका सम्पूर्ण नेता-कार्यकर्ताहरू होटल एलो पगोडामा भौतिक रूपमै उपस्थित हुने र जिल्लामा रहेकाहरूले आफ्नो हस्ताक्षर पठाइसकेको राप्रपाका केन्द्रीय सदस्य तथा युवा नेता उदय पोखरेलले जानकारी दिए ।
"राप्रपाभित्र अब विश्वासको संकट चुलिएको छ। पार्टीमा मूल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण बन्दै गएकाले नयाँ ढंगले अगाडि बढ्नुको विकल्प रहेन," राजीनामाको तयारीमा रहेका नेता पोखरेलले कालापानी मिडियासँग भने।
स्थिति नियन्त्रणमा लिने प्रयास: शीर्ष नेताहरूको दौडधुप विज्ञप्ति र बैठक
महामन्त्री डा. राणाले राष्ट्रवादी नयाँ शक्ति निर्माणका लागि आह्वान गरेसँगै राप्रपाभित्र तरंग पैदा मात्रै भएन स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन र महामन्त्री राणालाई पार्टीमै रोक्नका लागि संस्थापन पक्षले हतार-हतार प्रयास सुरु गर्यो । यसै सिलसिलामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन तथा पूर्व अध्यक्षहरूले छुट्टाछुट्टै विज्ञप्ति समेत जारी गरे ।
यसैबीच, पार्टीभित्रको बढ्दो असन्तुष्टि र सम्भावित विभाजनलाई रोक्न आज दिउँसो देखि पूर्व अध्यक्ष पशुपति शमशेर राणाको निवास (विजयवास) मा शीर्ष नेताहरूको आकस्मिक बैठक बसेको छ। उक्त बैठकमा सहमतिको प्रयास गरिए पनि असन्तुष्ट पक्ष आफ्नो निर्णयबाट पछि हट्ने संकेत नदेखिएको श्रोतले जनाएको छ।
प्रवक्ता ज्ञानेन्द्र शाहीको आक्रोश
पार्टीभित्रको विवादकै बीच राप्रपाका प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेतृत्वप्रति कडा आक्रोश पोखेका छन्। उनले निर्वाचनमा हार बेहोरेपछि पनि अध्यक्ष लिङ्देन पदमै बसिरहनु लज्जास्पद भएको टिप्पणी गरेका छन्। पार्टी महामन्त्री र अध्यक्ष दुवैतर्फ कटाक्ष गर्दै प्रवक्ता शाहीले नेतृत्वको अक्षमताकै कारण पार्टी यो अवस्थामा पुगेको आरोप लगाएका छन्।
'बृहत राष्ट्रवादी शक्ति' निर्माण र नयाँ ध्रुवीकरणको प्रयास
महामन्त्री डा. राणाको नेतृत्वमा अब राष्ट्रिय राजनीतिमा नयाँ ढंगले अगाडि बढ्ने रणनीति बनाइएको छ। यो केवल राप्रपाको असन्तुष्ट समूहको विद्रोह मात्र नभई नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको दाबी गरिएको छ।
वैकल्पिक राष्ट्रवादी शक्ति निर्माणका लागि राप्रपाका असन्तुष्ट पक्ष मात्र नभई नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्रमा रहेका राष्ट्रवादी धारका नेता-कार्यकर्ताहरूलाई समेत एकत्रित गरेर लैजाने योजना उनीहरूले बनाएका छन्।
सयौँको संख्यामा प्रभावशाली नेता र देशैभरका कार्यकर्ताहरूले एकैपटक पार्टी छाड्ने भएपछि राप्रपा वृत्तमा अहिलेसम्मकै ठूलो धक्का लाग्ने निश्चित देखिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved