विराटनगर । डेढ करोडभन्दा बढी क्षति हुने गरी सुनसरीको बर्जु गाउँपालिकामा गत साता आयोजित बर्जु महोत्सवमा भएको आगजनीबारे सरकारी छानविन समितिले आफ्नो निष्कर्ष निकालेको छ ।
समितिले निकालेको निष्कर्ष अनुसार भोजपुरी फिल्मका कलाकार खेसारीलाल यादवलाई बोलाइनु नै गल्ती थियो । समितिले झडप र आगजनीका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेकै कारण मानवीय क्षति र थप भौतिक क्षति हुन नपाएको निष्कर्ष पनि निकालेको छ ।
गत २३ पुसदेखि भएको महोत्सवको अन्तिम दिन ४ माघमा भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाइएको थियो । यादव दिउँसो १२ बजे आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट विक्री गरेको थियो । तर प्रशासनले उनलाई आउन अनुमति नदिएपछि आक्रोशित भीडले स्टेज तोडफोड तथा चारवटा सवारीसाधनमा आगजनी गरेको थियो ।
घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भीडको मनोविज्ञानकै कारण भएको निष्कर्ष पनि निकालेको छ ।
समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । घटनामा यादव र उनको कलाकार समूहले चढेको दुई वटा गाडी र नम्बर नखुलेका २ वटा गरी चार वटा गाडीमा आगजनी भएको छ । सरकारी प्रतिवेदनमा कोभिड–१९ संक्रमणको व्यवस्थापन सम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु आयोजक कै तर्फबाट पनि गल्ती भएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved