बिरुडा भिजाएर सुरु भयो सुदूरको गौरापर्व

  • भदौ १६, २०८३
  • कालापानी मिडिया
alt

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ । आराध्य भगवान महेश्वर र माता पार्वतीलाई आह्वान गरेर पहिलो दिन घर घरमा बिरुडा राखि गौरापर्वको औपचारिक आरम्भ गर्ने लोक रिति र शास्त्रीय पम्परा छ । यसरी बिरुडा भिजाएर गौरा पर्वको आरम्ग हुने दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ ।

व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, केराउ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने मानस खण्ड संस्कृतिका जानकारहरु बताउछन् । “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ”,बिरुडा भिजाउँदा माङ्गल, सगुन फाँग गाएर भगवान महेश्वर माता गौरीको आह्वान गरिन्छ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने बताइन्छ । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”। “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ । सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ ।

सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएका साउँ, धान, तिल, कुर्जो अपामार्ग र बलजस्ता पञ्च वनस्पतिबाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्राइने व्रतालु महिलाहरु बताउछन् । गौराको प्रतिमुर्ति बनाएर अमुर्तभरणी सप्तमीको दिन गौरा भित्र्याइन्छ । अष्टमीको दिन गौरा मातालाई लिन महेश्वर आउँने विश्वासकासाथ महिलाहरू गौरा–महेश्वरलाई शिरमा राखेर खेलाउँछन् । मांगल गान, सगुन र फागसँगै अठ्यावाली गुञ्जिन्छ । अठ्यावाली मनाएसँगै ब्रतालु महिलाहरुले दुब्धागो लगाउछन् । बिरुडाले घरका सदस्यको टाउको पूजा गरिन्छ । गौरा लोकपर्वका बेला देउडाको घेरोमा गाउँ बस्तीहरु रमाउँछन् । गौरा अष्टमीलाई कतिपय परम्परामा दुर्वाष्टमीसँग जोडिन्छ । दुर्वा अर्थात् दुबो हिन्दु धार्मिक परम्परामा पवित्र वनस्पतिका रूपमा स्थापित छ ।

दुबो काटिए पनि फेरि पलाउँछ । यही कारणले लोकविश्वासमा यसको सम्बन्ध दीर्घायु, सन्तान, वंशवृद्धि र निरन्तरतासँग जोडिएको देखिन्छ । गौरा पर्वमा दुबोको महत्वले शास्त्रीय र स्थानीय कृषि–जीवनबीचको सम्बन्ध पनि देखाउँछ । गौरा सम्बन्धी आधुनिक नेपाली धार्मिक व्याख्याहरूमा हेमाद्रिको व्रतसम्बन्धी साहित्यलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रस्तुत गरिएको छ । गौरा शास्त्रीय गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिसँग सम्बन्धित, तर सुदूरपश्चिमको स्थानीय लोकसंस्कृति, कृषि जीवन र मौखिक साहित्यले विशिष्ट रूप दिएको धार्मिक लोक पर्व हो ।

मानसी लोक पर्व गौराको यही जीवन्त परम्पराले गौरी–पार्वतीको प्राचीन धार्मिक आख्यानलाई यँहाको समाजले आफ्नो कृषि, परिवार, नारीजीवन, भाषा र लोकविश्वाससँग जोडेर ‘गौरा’मा रूपान्तरण गरेको अनुमान गर्न सकिन्छ । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गछौँँ”, स्थानीय कलावती जोशीले भनिन्, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।” प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ ।

यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिनछ । गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि ठाउँ ठाउँमा गरिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved