काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
गएराति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि भरुण सेहदेबले ५०, नरेश बुढाऐरले ४१ र जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । रोहितले अविजित ७१ रनको योगदान दिए भने दीपेन्द्रले ५४ रनको योगदान गरे । त्यस्तै पवन सर्राफले ३७, देव खनालले २०, कुशल भुर्तेलले २ र आदील आलमले १० रन बनाए ।
ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १÷१ विकेट लिए ।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved