काठमाडौँ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको पश्चिम-मध्य भूभाग आसपास न्यून चापीय क्षेत्र रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तर पश्चिम दिशानेतर्फ सर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र रातिको मौसम पूर्वानुमान:
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशका साथै विभिन्न प्रदेशका तराई भूभागमा पनि वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै राति देशभर बदली रही कोशी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना छ। यसैगरी राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
सतर्कता अपनाउन आग्रह:
विभिन्न प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम वा क्षतिबाट बच्न मौसम पूर्वानुमान महाशाखाले सबैमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved