डोल्पा । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्।
कर्णालीका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत शुक्रबार दुनैमा आयोजित बृहत् स्वास्थ्य शिविरका क्रममा डा. शर्माले उक्त घोषणा गरेका हुन्। छात्रवृत्तिअन्तर्गत डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा निःशुल्क अध्ययन गर्न पाउनेछन्।
थप उपचार, मिर्गौला प्रत्यारोपण र खानाको व्यवस्था कार्यक्रममा डा. शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र ५ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरे। साथै, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई व्यक्तिगत खर्चमा ५ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने र विपन्न बिरामीलाई अस्पताल भर्ना भएदेखि डिस्चार्ज नभएसम्म निःशुल्क खानाको व्यवस्था गरिदिने प्रतिबद्धतासमेत उनले जनाए। २ हजारले लिए सेवा, ८२ जना काठमाडौं रिफर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा केएमसीको समन्वयमा सञ्चालित शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा परामर्श लिएका छन्।
शिविरमा सेवा लिन सर्वसाधारण तीन–चार दिनसम्म पैदल हिँडेर दुनै आइपुगेका थिए। शिविरमा ३४९ जनाको भिडियो एक्स–रे, २०४ जनाको इको, १६३ जनाको प्रयोगशाला परीक्षण, १०३ जनाको ईसीजी र २७ जनाको दाँत निकालिएको छ। जटिल समस्या देखिएका ८२ जना बिरामीलाई थप उपचारका लागि केएमसी रिफर गरिएको छ। रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै शल्यक्रिया निःशुल्क गरिने आयोजकले जनाएको छ।
राज्यलाई ध्यानाकर्षण र आगामी शिविर सामान्य उपचारका लागि समेत तीन–चार दिन हिँड्नुपर्ने बाध्यताप्रति चिन्ता व्यक्त गर्दै डा. शर्माले डोल्पाको सडक र यातायात सुधारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए। ‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्दै उनले दुर्गमका नागरिकको उपचारमा सधैं साथ रहने बताए। यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको राडी बजार र मंसिर १५ गते सल्यानको बागचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved