डोल्पा । नेपाली कांग्रेस नेता तथा गिरिजा प्रसाद फाउन्डेसनका अध्यक्ष डा. सुनिल कुमार शर्मालाई डोल्पामा भव्य स्वागत गरिएको छ।
कर्णाली क्षेत्रका सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर लिएर डोल्पा पुगेका उनलाई स्थानीय बासिन्दाले बाजागाजा र फूलमालासहित भव्य स्वागत गरेका हुन्। दुर्गम तथा भौगोलिक रूपमा विकट मानिने डोल्पाका बासिन्दालाई घरदैलोमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ शिविर सञ्चालन गर्न लागिएको जनाइएको छ।
स्वास्थ्य सेवाको पहुँच कम भएको कर्णालीका नागरिकका लागि आयोजित यस शिविरबाट स्थानीयवासी लाभान्वित हुने अपेक्षा गरिएको छ। यस्तै दुर्गम तथा विकट क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर लिएर पुग्नुभएका डा. शर्माको आगमनले स्थानीयवासी उत्साहित भएका छन्।
शिविरबाट डोल्पासहित कर्णाली क्षेत्रका सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा पाउने अपेक्षा गरिएको छ। यसैबीच, आफूलाई प्राप्त आत्मीय स्वागत र सम्मानप्रति डा. शर्माले डोल्पावासीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दा, शुभचिन्तक, कांग्रेस नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको माया, विश्वास र सद्भावले जनसेवामा अझ दृढ भएर लाग्न थप ऊर्जा र प्रेरणा मिलेको उनले बताएका छन् । साथै, जनताको सुख-दुःखमा सधैँ साथ रहने र स्वास्थ्य तथा जनसेवाको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved