काठमाडौँ। हाल देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। यसैको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान अनुसार आजको मौसमी स्थिति यस प्रकार छ:
दिउँसोको मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तराई र हावाहुरी: सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाका साथै तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ।
रातिको मौसम: रातिको समयमा पनि सुदूरपश्चिमका साथै अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुनसक्नेछ।
भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved