काठमाडौँ। लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी, डुबान र पहिरोले जनजीवन प्रभावित पारेको छ। तराईका जिल्लाहरूमा बाढीले बस्ती डुबानमा परेका छन् भने पहाडी तथा हिमाली क्षेत्रमा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
सप्तरीमा ५ सय घर डुबानमा
सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका ५ सय घर डुबानमा परेका छन्। यसबाट करिब दुई हजार परिवार प्रभावित भएका छन्। प्रभावितहरूलाई तत्कालका लागि दुवै छाक खानाको व्यवस्था गरिएको र पानी घटेपछि थप राहत सामग्री बाँडिने नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिएका छन्।
बागलुङका दुई राष्ट्रिय राजमार्ग र ग्रामीण सडक ठप्प
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका साथै दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन्। बागलुङ बजारका विभिन्न क्षेत्र, ताराखोला र दक्षिण बागलुङ जोड्ने मुख्य सडकहरूमा पहिरो खस्दा सदरमुकामसँगको सम्पर्क टुटेको छ।
बर्दियामा तीन घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता
बर्दियाका विभिन्न स्थानमा वर्षाका कारण तीनवटा कच्ची घरका भित्ता भत्किएका छन् भने घरभित्र पानी पसेका परिवारलाई नजिकैको विद्यालयमा सारिएको छ। कर्णाली, गेरुवा र बबई नदीमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन प्रहरी र प्रशासनले माइकिङ गरिरहेका छन्।
कर्णालीका मुख्य राजमार्ग र सडक खण्ड बन्द
कर्णाली प्रदेशमा कर्णाली राजमार्ग, कर्णाली करिडोर, मध्यपहाडी राजमार्ग र राप्ती राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सुर्खेत, कालीकोट, रुकुमपश्चिम, जाजरकोट, जुम्ला, मुगु र सल्यानका प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन्। अवरुद्ध सडक सञ्चालन गर्न जेसिबी र स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved