काठमाडौँ। वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला चाडपर्व वा यज्ञयागादि गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि सुरु भएको छ।
यस समयमा पितृहरूले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध सामान्यतया अपराह्न कालमा आफ्ना पिताको तिथि पारेर गर्नुपर्छ।
जाताशौच, मृताशौच र पत्नी रजस्वला भएको अवस्थामा बाहेक यो श्राद्ध छोड्नु हुँदैन। कतिपय पुरोहितले बिहानै श्राद्ध गराउने गरे पनि त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ।
यदि कुनै कारणवश तोकिएको तिथिमा श्राद्ध रोकिएमा शास्त्रमा विभिन्न विकल्पहरू दिइएका छन्:
आश्विन शुक्ल पञ्चमीसम्म: आपत् धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिन्छ। लक्ष्मीपूजा वा मङ्सिरसम्म: उक्त समयमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा वृश्चिक सङ्क्रान्ति (मङ्सिर) सम्म जुराएर श्राद्ध गर्न सकिने धर्मसिन्धु ग्रन्थमा उल्लेख छ।
विशेष दिनहरू: आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिनहरूमा पनि जुनसुकै तिथि परे पनि श्राद्ध गर्न सकिने विकल्प निर्णयसिन्धु र धर्मसिन्धुमा दिइएको छ।
१० महिनासम्म मन्त्र जप: यी कुनै पनि समयमा श्राद्ध गर्न नसकिएमा आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ पटक मन्त्र जप गरी १० महिनासम्म निरन्तरता दिएमा पनि पितृ तृप्त हुने शास्त्रीय मान्यता छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त गराउने परम्परा अनुसार नै दसैँअघि सोह्र श्राद्ध गर्ने गरिएको हो। यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व केही पछि सरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved