काठमाडौं । केहीदिन अघि रूकुम पश्चिममा युवायुवती बीच भएको प्रेमप्रसङ्गले निम्ताएको अकल्पनीय नरसंहारप्रति राष्ट्रिय संस्कार धाम नेपालको ध्यानाकर्षण भएको छ । सर्वप्रथम, घटनामा ज्यान गुमाएका सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्न सक्ने क्षमता प्रदान होस् भनी पशुपतिनाथ सँग प्रार्थना गर्दछौं ।
अपवाद बाहेक वैवाहिक जीवनमा परिणत नहुन्जेल प्रेम समन्धहरू आपसी समझदारी र सम्झौतामा गोप्य नै रहन्छन् भन्ने कुरा जाने बुझेकै वास्तविकता हो । दुबै तर्फको आपसी समझदारीमा, एक आपसमा मन मिलेर नै जीवनको नैसर्गिक अधिकार प्रयोग गर्दै गर्दा जसरी मृत्युुवरण गराइयो उक्त घटनाको शब्दमा जति नै भत्सर्ना गरेपनि अपुग र अपर्याप्त रहन्छ ।
घटनापछि प्रकाशित तथ्य प्रमाणलाई हेर्ने हो भने पनि आवश्यक छानबिन पछि पीडित पक्षले न्याय र पीडकले दण्ड पाउन अब केही कुर्नुपर्ने देखिँदैन । तर, विगतकै नजिरहरूबाट के स्पस्ट हुन्छ नेपालमा जघन्य अपराधमा पनि राजनीतिक संरक्षण हुन्छ र पीडित, पीडित नै भएर बाँच्नुपर्छ र पीडक अझै शक्तिशाली भएर समाजमा हिँड्छ । रूकुम घटनामा न्याय नमरोस् भन्नेमा सबैले संयमित खबरदारी गर्न भने आवश्यक छ ।
रूकुम घटनामा समाज देखि सामाजिक सञ्जालमा बाँडिएका दुवै थरि अतिवादी विचारबाट समाज जोगिन आवश्यक छ । केटा तर्फबाट अपहरण हुन लागेको भन्दै केटी तर्फकाले जसरी घटनाको हलुका ढङ्गबाट व्याख्या गरिरहेका छन् त्यो गलत छ । मानौँ, अपहरण नै गर्न आएको रे समातेर मार्ने हैन प्रशासनलाई बुझाउनु पर्थ्यो र सत्यतथ्य छानबिन गर्न सघाउनु पर्थ्यो । अर्कोतर्फ केटा पक्ष, अधिकारकर्मी र आम रूपमा घटनालाई जसरी जातीय व्याख्या गरेर न्याय मागिएको छ त्यो पनि गलत छ । घटना घटिसकेपछि कुन जातिको , कुन धर्मको भनेर भन्दापनि मान्छे मारिएको हो पीडितले न्याय पाउनुपर्छ भनेर आवाज उठाउन जरुरी छ र हुन्छ। जघन्य अपराधमा कानुनको ब्याख्या जातीय रूपमा र धर्म नाममा उठाएर पीडितलाई थप पीडा दिनुहुन्न । जे नहुनु त्यो भइसक्यो अब घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ , पीडितले न्याय पाउनुपर्छ , पीडक दण्डित हुनुपर्छ जसले आगामी दिनमा यस्ता अमानवीय र आततायी घटनालाई निरूत्साहित गरोस् ।
अन्तमा, रूकुम घटनालाई जोडेर जसरी धार्मिक आस्था माथि प्रहार भएको छ त्यसप्रति पनि राष्ट्रिय संस्कार धाम नेपालको ध्यानाकर्षण भएको छ । धर्म, संस्कार र संस्कृतिले कहिल्यै पनि विभेदको परिकल्पना गर्दैन । विभेद चेतना र आजसम्मका अपब्याख्यामा केन्द्रित अभ्यासहरूमा अभ्यस्त हुन्छन् भन्ने बुझ्न जरुरी छ । शास्त्रमा भनिएको छ,"
जन्म जायत शुद्र,संस्कारात द्विज उज्यते
वेदाध्यायि भवते विप्र, ब्रह्म जानाती ब्राह्मण ।।
जन्मदै कोहि पनि मान्छे ब्राह्मण हुने होइन, ब्राह्मण संस्कार, ज्ञान सत्कर्मबाट हुने हो र जोकोहि पनि मान्छे ब्राह्मण बन्न सक्छ । त्यसैले घटनालाई जातीय रूपमा र धार्मिक रूपमा उचालेर राजनीतिक लाभहानीमा सामाजिक र धार्मिक एकता खल्बलाउने काम बन्द गरौँ ।
सबैको सदबुद्धि आओस्, पीडितले न्याय पाउन् पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
रामहरि अधिकारी
अध्यक्ष
राष्ट्रिय संस्कार धाम नेपाल
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved