बैतडी । बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ। मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन्। दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोपका रूपमा देखापरेको हो। फौजी किराले मकैबाली सखाप पारेको किसानले बताएका छन्।
फौजी किराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन्। दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टका अनुसार दोगडाकेदार गाउँपालिका-१ को रिम, गोरङ र वडा नम्बर ६ को सित्तडलगायत बस्तीमा मकै नउम्रिने र उम्रेको बोटमा समेत किराको प्रकोप देखिएको छ।
जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो। मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए। मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो। फौजी किराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको छ।
पुर्चौडी नगरपालिका–२ महादेवस्थानको जर्सौटोलमा रहेका ६० परिवारको खेतमा लगाएको मकैबाली दुई हप्तादेखि अज्ञात किराले नष्ट गरिरहेको स्थानीय डम्मरराज पन्तले बताए। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नक्तडका स्थानीय राजेशसिंह विष्टले भने, “गत वैशाखमा खेतमा मकै लगाएका हौँ, खेतमा लगाएको मकै गोड्न जाँदा मकैका बोटमा ठाउँठाउँमा प्वालहरु छन्। यसपालि उम्रिनै लागेको मकैबालीमा किरा लागेपछि सोचेजस्तो बाली भित्र्याउन सकिएलाजस्तो छैन।” गोकुलेश्वरलगायत क्षेत्रमा किराले मकैबाली सखाप पार्न थालेको भन्दै किसानले प्राविधिक सहयोगका लागि अपिल गरेका छन्।
खेतमा छरेको मकै नउम्रिँदा विभिन्न बस्तीका किसान खेतमा दोस्रो चोटी मकै लगाउन थालेका छन्। वैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन्। गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तित बनाएको हो। किराले गुबो खाएपछि मकै फस्टाउन पाएको छैन।
बर्खेमकैमा फौजी किराले पातै नआउने गरी मकैको गुबो सखाप बनाएपछि मकै भित्र्याउने आशा मरेको गोकुलेश्वरका किसान गङ्गादत्त जोशीले बताए। पहाडी क्षेत्रको मुख्य खाद्यान्नका रूपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निरास छन्। किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्न अभावको चिन्ताले सताएको हो।
लकडाउनले किटनाशक औषधि लिनसमेत समस्या भएपछि किसान झन् समस्यामा छन्। मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौजी किराको प्रकोपले यसको उत्पादनमा असर पार्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। मकैमा फौजी किराको प्रकोप देखिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved