आजबाट मलमास अर्थात अधिकमास सुरु ! के गर्न हुने के गर्न नहुने ?

  • आश्विन २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास आज (शुक्रबार) देखि सुरु भएको छ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं-तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।

सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि अधिकमास मनाउन लागिएको हो ।

हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ ।

वैदिक पञ्चाङ्ग अनुसार पहिले असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन भए पनि अहिलेको आधुनिक पञ्चाङ्ग अनुसार अधिकमास मनाएको २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

किन भनियो पुरुषोत्तम मास ?

मलमासलाई पुरुषोत्तम मास पनि भन्ने गरिन्छ । यसको छुट्टै किंवदन्ती रहेको छ । हरेक महिनालाई सबै भगवानले आ(आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेपनि अन्तिममा अशुद्ध भनेर छाडिएको यो महिनालाई कुनै पनि भगवानले स्वीकार्न चाहेनन् । यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर सो महिनालाई आफूले स्वीकार्ने बताए भन्ने मान्यता छ ।

त्यसैले यो महिनामा अरू शुभकर्म गर्न निषेध गरिएकोले भगवान विष्णुलाई खुसी बनाउने गरी स्तुति गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ ।

यो महिनामा केही कामको लागि निषेध गरिएको छ भने केही काममा बाधा नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनाभरि जान नहुने प्रा.डा. भट्टराईको कथन छ ।

मलमासमा मन्दिरलगायत भौतिक संरचना निर्माणको लागि समेत निषेध गरिएको छ । शास्त्रीय मान्यता अनुसार यो एक महिनाभरि कुनै पनि नयाँ शुभकर्मलाई शुभारम्भ गर्न नै निषेध गरिएको छ । यद्यपि यो समयमा समेत पहिलेदेखि नियमित गरिँदै आएको कर्म गर्न भने बाधा नपर्ने भट्टराई बताउँछन् ।

यो महिनामा भगवान विष्णुलाई मनपर्ने माल्पुवा जस्ता परिकारसहित विष्णुको पूजा आराधना गर्ने गरिन्छ । प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार मलमासको समयमा गर्न हुने र गर्न नहुने कामहरू निम्नानुसार छन् ।

के गर्न हुने के गर्न नहुने

गर्न हुने कुरा

– नित्य कर्म

– नियमित गरिँदै आएको व्रत

– निस्काम भावले गरिने बिहानी सत्संग

– विष्णुको स्तुति र कीर्तन

– न्वारन, पास्नी

– दैनिक उपभोग्य सामग्री खरिद

गर्न नहुने कुरा

– कुनै पनि काम्य गर्म गर्न हुँदैन

– मुहूर्त जुराएर गर्ने काम केही पनि गर्न हुँदैन

– गृह प्रवेश

– नयाँ तीर्थको यात्रा गर्न

– नयाँ व्यवसाय सुरु गर्न

– नयाँ व्रतको सुरुवात गर्न हुँदैन

– नयाँ संरचना निर्माणको थालनी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved