काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले बाह्रौं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासंघका अध्यक्ष जगत बरामले बाह्रौं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेका हुन्। उनले विगतका जनगणनामा सरकारले सूचिकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताए।
अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भए पनि जातजातिभित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको औंलाए। उनले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्याभित्रै आउने गरी गणना गर्न माग गरे।
नेपालमा बहुभाषी मानिस भए पनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेकाले कुनै भाषा बोल्ने एकजना मात्रै छ भने पनि उसको गणना गरेर सार्वजनिक गर्नु पर्नेमा अध्यक्ष बरामले जोड दिए।
अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भए पनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्बीहरुको संख्या बढाउने गरिएको आरोप लगाए। यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उनले माग गरे। नेपालका विकट ठाउँसम्म घर–घरमै गणक पुग्नुपर्ने तथा स्थानीय लवज र भाषालाई बुझ्ने गणक सम्बन्धित ठाउँमा खटाउन उनले सरकारसमक्ष आग्रह गरे।
आदिवासी जनजाति युवाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेकाले उनीहरु गणनाबाट छुट्ने आशंका गर्दै अध्यक्ष बरामले विदेशमा बस्ने नेपालीको पनि छुट्टै ढंगले गणना गरिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved